नेतृत्व लिने आट गर्नुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले समाजका हरेक क्षेत्रमा अवसर पाउने मात्र नभई महिलाले नेतृत्व लिने तहमा आफूलाई उभ्याउनु पर्ने बताएका छन् । वीरेन्द्रनगरमा शनिबार राष्ट्रिय महिला आयोगले आयोजना गरेका नीतिगत तहमा महिला पहुँच स्थापित गराउने विषयमा प्रदेशसभा सदस्य र संसदीय समितिका सभापतिसँगको कार्यक्रमका बोल्दै कँडेलले यस्तो बताएका हुन् ।



कर्णालीको असमान आर्थिक र सामाजिक अवस्थाको प्रभावमा महिला मात्र नभई पुरुष पनि परेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले विगतभन्दा महिला उपस्थितीमा सुधार हुँदै गएको बताए ।

कुरिती, अन्धविश्वास र पुरानो मूल्य र मान्यता कर्णालीबाट नहट्दा संविधानले सुनिश्चित गरेका हक अधिकारहरु कार्यान्वयनमा चुनौती रहेको उनले बताए । गलत सामाजिक मूल्य र मान्यताका कारण व्यवस्था बदल्न सजिलो तर, कर्णालीको सामाजिक संस्कार र व्यवहार बदल्न कठिन रहेको मुख्यमन्त्री कँडेलको भनाई छ । सरकार प्रमुखको हैसियतले महिलाका हक अधिकार सुनिश्चित गर्नतर्फ जिम्मेवार भएर लाग्ने मुख्यमन्त्री कँडेलले बताए ।

देशमा लोकतन्त्र स्थायित्वपछि महिलाहरुको हरेक क्षेत्रमा सहभागिता बढेको तर, अपेक्षाकृत नभएको दृष्टान्तलाई बिर्सन नहुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन ।

‘नेतृत्वमा पुग्न कानुन हेर्ने, अरुको मुख ताक्नेभन्दा पनि आफ्नो आवश्यकता र औचित्य पुष्टि गरे कसैले कही कतै रोक्न सक्दैन,’ उनले भनिन्, ‘हिजोको प्रितृसत्ताबाट महिलाहरु माथि उठेर सर्वोच्च नेतृत्वमा पुगेका उदाहरणहरु तपाई हामी माझ छन्, आफूले प्राप्त गरेका हरेक अवसरमा आफ्नो कार्यकौशलता प्रर्दशन गर्न जरुरी छ ।’

यस्तै, नेपाली कांग्रेस संसदीय दलका सचेतक एवम् प्रदेशसभा सांसद हिक्मत विष्टले तीनै तहका सरकारहरुले महिला सहभागितासँगै सशक्तिकरणको पाटोलाई एक साथ लगेमात्रै महिला सवालमा रहेका समस्या हल गर्न सकिने बताए । नेकपा माओवादी केन्द्रका सांसस एवम् निर्वतमान मन्त्री उर्मिला विश्वकर्माले महिला सहभागिताको सवालमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताइन ।

तपाईको प्रतिक्रिया