साना उद्योगीलाई प्रोत्साहन गर्न सुर्खेतमा औद्योगिक प्रदर्शनी

साना उद्यमीका समस्या समाधान गर्न कटिवद्ध छाैं : मुख्यमन्त्री कँडेल

सुर्खेत । पहिलो पटक साना उद्योगीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी गरिएको छ । साना उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र प्रचारप्रसारका लागि प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले औद्योगिक प्रदर्शनी प्रतियोगिताको आयोजना गरिएको हो ।




स्थानीय स्रोत साधनबाट उत्पादन गरिएका वस्तुहरुको प्रचारप्रसार र बजारीकरणमा सहयोग पु¥याउन औद्योगिक प्रर्दशनी प्रतियोगिता जारी छ । साना उद्यमीले उत्पादन गरेका बस्तुहरुका प्रदर्शनीबाट ब्राण्ड बनाउने लक्ष्य राखिएको छ ।

घरेलु, साना तथा मझौला उद्योगहरू अर्थतन्त्र र रोजगारीका लागि महत्वपूर्ण आधार मानिन्छ । यही क्षेत्रले सबैभन्दा बढी रोजगारी सृजना गरेको छ । सरकारले अनुदान दिनुभन्दा उद्योगमा चाहिने आधुनिक प्रविधिमा सहयोग गरे उत्पादनमा वृद्धि गर्न सकिने उद्यमी सरिता रावलले बताइन् ।

‘यस्ता कार्यक्रमले हामीले गरिरहेको मेहनतलाई प्रचारप्रसार र बजारीकरण गर्नमा टेवा पुग्छ,’ रावलले भनिन्, ‘साना उद्यमीलाई पहिचानसहितको प्रवद्र्धन गर्न सके अथाह सम्भावना भएको कर्णालीलाई यहाँका ब्राण्डले चिनाउने र रोजगारी पनि बढ्छ ।’

कर्णालीमा अर्गानिक उत्पादनको लागी चाहिने कच्चा पदार्थ भण्डारण पनि हो । प्रदर्शनीमा कर्णालीका रैथाने बालीदेखि घरेलु औजारहरु राखिएको छ । आयातित बस्तुका कारण स्थानीयले उत्पादन गरेका बस्तुहरु ओझेलमा छन् ।

प्रदेश सरकारको सक्रियतामा स्थानीय उत्पादन तथा बजारीकरणमा सहज बनाउन लघु औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको छ । ग्राममा हाल विभिन्न उद्यमीहरुले स्थानीयकै स्रोत साधनबाट बस्तुहरु उत्पादन गरिरहेका छन् ।

साना उद्यमीलाई हौसला प्रदान गर्न प्रदर्शनीको आयोजना गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए । साना उद्यमीहरुका लागि ग्राम स्थापना गरेर उद्योग सञ्चालनमा सहयोग पु¥याइरहेको योगीले जानकारी दिए ।

लघु औद्योगिक ग्रामलाई यस क्षेत्रकै पहिचान हुने र बाहिरबाट आएर पनि उपहारको रुपमा अनिवार्य लिएर जाने किसिमका उत्पादन गर्ने थलोको रुपमा विकास गर्न निर्देशन मुख्यमन्त्री यामलला कँडेलले दिए ।

कच्चा पर्दाथको प्रशस्तै संभावना भएरपनि उपेक्षित रुपमा उत्पादन गर्न नसकेको र उत्पादित बस्तुहरुको बजारिकरणको समस्या रहेकाले त्यसको निराकरणको लागि सरकारले साथ दिने उनको प्रतिवद्धता छ ।

कच्चा पदार्थको उपलब्धता, बजार पहुँच सरलीकरण, गुणस्तर प्रमाणीकरण जस्ता विविध पक्षमा स्थानीय उद्यमीहरुले समस्या भोगिरहेकाले त्यसको निराकरण गर्नमा सरकार सदैव प्रतिवद्ध रहेको कँडेलले बताए ।

स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र रोजगारीसँगै आर्थिक बृद्धि गर्न प्रदेश सरकारले साना उद्यमीहरुलाई साथ दिन उनको भनाई छ । शनिवारसम्म सञ्चालन हुने प्रदर्शनीमा घरेलु औजार, मह, अल्लोबाट उत्पादन गरिएका कपडा, अचार, खाद्यन्न, काष्टकला सामग्री लगायत राखिएको छ ।

तपाईको प्रतिक्रिया