एमाले पञ्चपुरी नगर अधिवेशन, मिसन ०८४ मा जुट्न नेता–कार्यकर्तालाई कँडेलको निर्देशन

सुर्खेत । नेकपा एमाले पञ्चपुरी नगर कमिटी सुर्खेतको दोस्रो अधिवेशन सुरु भएको छ। शुक्रबार एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आथितिथ्यामा अधिवेशन सुरु भएको हो।



‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नाराका साथ दोस्रो अधिवेशन पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा जारी छ।

उक्त अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कँडेलले जनताको अविभारा बदल्नका लागि स्थानीयस्तरबाट सबै नेता–कार्यकर्ता लाग्नुपर्ने बताए।

‘एमालेको जे अभिभारा छ, त्यहीँ अनुसार जिम्मेवारी पूरा गरौं । हिजोको लडाइँभन्दा आज समृद्धिको अभियानमा सबै कमिटी एक भएर लाग्नुहोस्,’ कँडेलले भने, ‘तपाईं मस्ताराम भएमा म मुख्यमन्त्री भएको कुनै अर्थ हुँदैन । नेतृत्व सफल बनाउन जहाँ छौं त्यहीँबाट सबै एकमत भएर काम गरौं।’

उनले अधिवेशनमा मात्रै जाग्ने तर अन्य समयमा सुत्ने एमालेको असल कार्यकर्ता हुन नसक्ने भएकाले विकास र समृद्धिको अभियानमा कटिवद्ध भएर खटिन निर्देशन दिए।

यसअघिको गठबन्धन स्वार्थ केन्द्रित राजनीतिले जनताका हरेक काम ओझेल परेको अवस्थामा नयाँ नयाँ परिवेशले नागरिकमा सकरात्मक सन्देश दिएकाले जन अपेक्षाअनुसार काम गर्ने ध्येय आफ्नो रहेकाले पार्टीका सबै कार्यकर्ता पनि त्यहीँ गतिमा लाग्न कँडेलको निर्देशन छ।

‘विगतमा सिद्धान्त, गन्तव्य र पृष्ठभूमि नमिल्नेहरू एमाले विरूद्ध लागेको सबैलाई अवगत नै छ,’ कँडेलले भने, ‘अहिले व्यवहारिक अनुभुती गरेर नयाँ समिकरण तय भयो जनताको विश्वास नगुम्नेगरी आफूले काम गर्ने र त्यहीँ गतिमा पार्टीका सबै कमिटीले जिम्मेवारी पूर्वक काम गरे एमालेको मिसन ८४ सफल बन्नेछ।’

साथै कँडेलले असल र जनताको लोकप्रिय नेता बन्न आफूलाई समयअनुसार अपडेट गर्न पनि कार्यकर्तालाई आग्रह गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिए।

यस्तै, उक्त कार्यक्रममा एमाले स्थायी कमिटी कँडेलसहित केन्द्रीय कमिटी सदस्य नवराज रावत, प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष मोहनसिंह बडुवाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया