सुर्खेत । अत्यधिक गर्मी बढेपछि सुर्खेतका नीजि विद्यालयहरु बन्द गर्न लागिएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सुर्खेत जिल्लामा रहेका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीका कारण बालबालिकाहरु विरामी हुने र ठेउला पर्ने जस्ता समस्या अत्यधिक बढेपछि विद्यालय एक साताका लागि बन्द गर्न लागेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरेन्द्रनगरका अध्यक्ष हुमलाल भट्टराईले नेपालकर्मलाई जानकारी दिए । कतिपय नीजि विद्यलायहरु टिनको टहरामा पढाई राख्नु पर्ने बाध्यता रहेकाले छाना तातिदा विद्यार्थीहरुलाई पढाउन समस्या भएको उनको भनाई छ । बर्षे विदा कटौती गरेर गर्मी विदामा समायोजन गरिएको बताएका उनले बुधबारदेखि एक हप्ता विद्यालय बन्द गरिनेछ ।
यता, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) का वीरेन्द्रनगर अध्यक्ष दिनेश दाहालले आफूहरुले बिहीबारदेखि लागू हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।


तातो हावाका कारण बालबालिकाहरु र ठूला कक्षामा पढ्ने विद्यार्थीहरुलाई निकै समस्या गरेपछि विद्यालय बन्द गर्नुपर्ने बाध्यता आएको उनको भनाई छ । प्याब्सन र एन–प्याब्सनले मौखिम रुपमा वीरेन्द्रनगर नगरपालिकालाई गर्मीका कारण विद्यार्थीहरुमा समस्या देखिएकाले विद्यालय बन्द गर्न लागेको जानकारी गराएको जनाएका छन् । सुर्खेतमा प्याब्सन र एन–प्याब्सनका ९३ विद्यालय छन् ।

नेपाल कर्म । २३ जेष्ठ २०८०, मंगलवार १८:३२