सुर्खेत । एमाले पार्टीका हरेक कमिटीका अधिवेशनमा सक्रिय हुने तर अन्य समयमा मौन बस्ने प्रवृत्ति त्याग्न स्थायी कमिटी सदस्य एमव् मुख्यमन्त्री यामलाल कँडेलले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेकपा एमाले वीरेन्द्रनगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै कँडेलले अधिवेशनमा जिम्मेवारी लिन होडवाजी गर्ने त्यसपछि मस्तराम हुने प्रवृत्तिलाई छाड्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।


‘एमालेको जे अभिभारा छ, त्यहीँ अनुसार जिम्मेवारी पूरा गरौं । हिजोको लडाइँभन्दा आज समृद्धिको अभियानमा सबै कमिटी एक भएर लाग्नुहोस्,’ कँडेलले भने, ‘तपाईं मस्ताराम भएमा म मुख्यमन्त्री भएको कुनै अर्थ हुँदैन । नेतृत्व सफल बनाउन जहाँ छौं त्यहीँबाट सबै एकमत भएर काम गरौं ।’
उनले अधिवेशनमा मात्रै जाग्ने तर अन्य समयमा सुत्ने एमालेको असल कार्यकर्ता हुन नसक्ने भएकाले विकास र समृद्धिको अभियानमा कटिवद्ध भएर खटिन निर्देशन दिए ।
यसअघिको गठबन्धन स्वार्थ केन्द्रित राजनीतिले जनताका हरेक काम ओझेल परेको अवस्थामा नयाँ नयाँ परिवेशले नागरिकमा सकरात्मक सन्देश दिएकाले जन अपेक्षाअनुसार काम गर्ने ध्येय आफ्नो रहेकाले पार्टीका सबै कार्यकर्ता पनि त्यहीँ गतिमा लाग्न कँडेलको निर्देशन छ ।
‘विगतमा सिद्धान्त, गन्तव्य र पृष्ठभूमि नमिल्नेहरू एमाले विरूद्ध लागेको सबैलाई अवगत नै छ,’ कँडेलले भने, ‘अहिले व्यवहारिक अनुभुती गरेर नयाँ समिकरण तय भयो जनताको विश्वास नगुम्नेगरी आफूले काम गर्ने र त्यहीँ गतिमा पार्टीका सबै कमिटीले जिम्मेवारी पूर्वक काम गरे एमालेको मिसन ८४ सफल बन्नेछ ।’ असल र जनताको लोकप्रिय नेता बन्न आफूलाई समयअनुसार अपडेट गर्न पनि कँडेलले कार्यकर्तालाई आग्रह गरे ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै एमाले केन्द्रीय सदस्य एवम् वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले नागरिकको अपेक्षा पूरा गर्नेगरी कार्यकर्ता सदैव खटिरहन आवश्यक रहेको बताइन् ।
उनले दिन कस्तो हुने भन्ने कुरा बिहानीले तय गर्ने भएकाले सोहीअनुसार मिसन ८४ सफल पार्न सबै जहाँ छौं त्यहीँ ठाउँबाट प्रतिवद्ध भएर लाग्न ढकालले आग्रह गरिन् ।
‘बझाङ र ईलाममा भएको उपनिर्वाचनको परिणामले एमालेप्रतिको भरोसा र जनविश्वास पुष्टि गरिसकेको छ,’ ढकालले भनिन्, ‘अझै ८४ को मिशनलाई सफल बनाउन जनतामाझ पुग्नुपर्छ । एमालेका गतिविधि र कसरी काम गरिरहेको छ भन्ने विषयलाई जानकारी दिनुपर्छ ।’
ढकालले गाली र आलोचनाले मात्रै पार्टी दिगो नबन्ने भएकाले पार्टी कमिटीलाई सही रूपमा परिचालन गर्न सके एमालेको ८४ मिसन सफल हुने बताइन् ।
‘जिम्मेवारी पूरा गर्न सकेका छौं कि छैनौं त्यसतर्फ हामी आफैले फर्केर आत्म समिक्षा गर्न जरुरी छ,’ ढकालले भनिन्, ‘पार्टी र जनप्रतिनिधिविच समधुर सम्बन्ध राम्रो भयो भने जिम्मेवारी लिएका ठाउँमा विकासको गतीलाई तिव्रता दिनमा सहज हुनेछ ।’
अभिवेशनमा एमाले केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट, एमाले नेता बालाराम शर्मा, सुर्खेत अध्यक्ष कुलमणि देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । बिहीबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ ।

नेपाल कर्म । १९ बैशाख २०८१, बुधबार १७:२५