साढे दुई हजार हेक्टरमा विस्तार हुँदै फलफूल खेती

सुर्खेत । कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ । यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ वटा जिल्ला छनौट गरिएको छ । प्रदेशका नौ वटा जिल्लामा रहेका २० वटा स्थानीय तहमा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीलाई दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा विस्तार गर्न थालिएको हो ।
किसानको आम्दानी बृद्धि गर्नका लागि नौ वटा जिल्लामा फलफूल खेती विस्तार गर्न लागिएको हो । यो कार्यक्रमबाट प्रदेशमा फलफूलको उत्पादन बढ्ने र यसले किसानको जीवनस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल खेती विस्तार गर्न थालिएको हो । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन इकाई सुर्खेतले कर्णालीका २० वटा पालिकामा यो कार्यक्रम संचालन हुने जनाएको छ ।
हाल कृषि विकास निर्देशनालयमा आयोजना कार्यान्वयन इकाई स्थापना गरिएको छ । आयोजनाका व्यवस्थापक एवं कृषि विकास निर्देशक चित्रबहादुर रोकायाले मुख्यगरी स्याउ, सुन्तला, ओखर, पिकानट्स र बदाम खेती विस्तार गरिने बताए ।
उनले भने,‘कर्णालीमा फलफूलको सम्भावना धेरै छ, अहिले पनि किसानले फलफूलबाटै जीविकोपार्जन गर्दै आएका छन् । तर अब हामीले यसलाई थप विस्तार र व्यवसायीक बनाउने छौं, प्रदेशका नौ वटा जिल्लामा अब फलफूल खेतीलाई विस्तार गर्दैछौं ।’
अब प्रदेशमा स्याउ एकहजार ४५० हेक्टर, सुन्तला ३५० हेक्टर, ओखर ६ सय हेक्टर, पिकानट्स एकसय हेक्टर र बदाम खेतीलाई एकसय हेक्टर गरी प्रदेशभर थप दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गरिनेछ ।
उनका अनुसार साविक कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ र ओखर खेती विस्तार हुनेछ । यस्तै दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा भने सुन्तला, बदाम र पिकानट्स खेती विस्तार हुनेछ ।
काष्ठफल र फूलफूलको क्षेत्रमा मात्र केन्द्रीय परियोजना भएकोले कर्णालीमा यस खेतीको विस्तार, उत्पादन र बजारीकरण बढाउने लक्ष्य लिइएको छ । यस खेतीका लागि निजी, सहकारी र ठूला कम्पनीहरुले सहकार्य गर्नुपर्नेछ ।
खेतीका लागि कम्तीमा चार रोपनी जग्गा अनिवार्य हुनुपर्ने बाध्यकारी नियम छ । सहुलियतपूर्ण ऋण, आंशिक अनुदान, समपूरक अनुदानमार्फत फलफूल खेतीमा लगानी गर्न सकिने आयोजना व्यवस्थापक रोकायाले जानकारी दिए ।
कर्णालीमा रुकुमपश्चिमको बाफीकोट, मुसीकोट, सानीभेरी, सल्यानको डोरचौर र शारदा, जाजरकोटको छेडागाट र जुनीचाँदे, दैलेखको आठवीस, नारायण र चामुण्डा विन्द्रासैनी, कालीकोटको शुभकालिका र नरहरिनाथ, जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी, मुगुको खत्याड र सोरु, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्केचुलामा फलफूल खेती विस्तार हुनेछ ।
आयोजना व्यवस्थापक रोकायले इकाई कार्यालयबाट ५० लाख रुपैयाँ सम्मको लगानीको निर्णय गर्न सक्ने र त्योभन्दा माथि भए केन्द्रीय इकाईमा पठाइने बताए । यो कार्यक्रम सन् २०२९ सम्म लागू हुनेछ ।
सुरुको चरणम जानकारी, दोस्रो चरणमा उत्पादन र विस्तार तथा तेस्रो चरणमा बजारीकरण गरिनेछ । कर्णालीमा यो कार्यक्रम लाभदायक भएका कारण आयोजनाबाट थप क्षेत्रमा फलफूल खेतीको विस्तार हुने बताइएको छ ।
यसबाट उत्पादन बढ्ने र किसानहरुको आम्दानी पनि बृद्धि गर्न सकिने विश्वास गरिएको व्यवस्थापक रोकायले बताए । कर्णालीका नौ जिल्लासहित देशका ३४ जिल्लाका एकसय वटा स्थानीय तहमा १० वटा फलफूलमा यो परियोजना केन्द्रीत रहेको छ ।
परियोजनाले सुन्तला, जुनार, कागती, स्याउ, ओखर, किवी, एभोकाडो, पिनाकट, कागती र बदामको खेती विस्तार गर्नेछ । देशका ३४ जिल्लामा हुने यी फलफूलको खेती १० हजार हेक्टर क्षेत्रफलमा विस्तार हुने र त्यसमा ३० हजार किसानको सहभागिता गराइने छ ।
तपाईको प्रतिक्रिया