फस्टाउँदै गोविन्द वलीको तरकारी खेती

सुर्खेत । गुर्भाकोट–१३ गुमीका नमूना किसान गोविन्द वलीको तरकारी खेती फस्टाउँदै गएको छ । बैदेशिक रोजगारीका क्रममा मलेसियामा पाँच बर्ष बिताएर गाउँ फर्किएका उनको मेहनतले तरकारी खेती फस्टाउँदै गएको हो ।



गोविन्दसँगै उनका दाजुले पनि वैदेशिक रोजगारीका क्रममा मलेसियामा पाँच बर्ष बिताएका थिए । गाउँमै तरकारी व्यवसायबाट स्वरोजगार बनेका उनलाई अब पैंसा कमाउन विदेश जानपर्ने छैन ।

वलीका बुवाआमाले पहिले देखि नै घरमा भैँसि पाल्ने भएकाले गोविन्द विदेशबाट फर्किएर भैसीँ पालनसँगै तरकारी व्यवसायमा होमिएका हुन् । हाल २ वटा गाइ र ५ वटा भैंसी पालन गरेका छन् ।

ड्रागन फल सहित तरकारीबाट एकै सिजनमा ६-७ लाख रुपैयाँ आम्दानी गर्दै आएका उनी दुध बेचेर महिनामा ६५ हजार कमाउँछन् । उनले कृषि विकास निर्देशनालयको ५० प्रतिशत लगानी र आफ्नो ५० प्रतिशत लगानीमा व्यवसाय गरिरहेका छन् ।

निर्देशनालयबाट उनले पानी सिँचाईको लागि मोटर, पाईप, तरकारीको लागि टनेल, खेत जोत्नका लागि मिनि टेलर लगायतका औजार अनुदान र प्राविधिक सहयोग पाएका छन् ।

हाल उनका सव परिवारले तरकारी खेती गर्छन् । सबै परिवारले रोजगारी पाउने गरी व्यवसाय सुरु गरेपछि सहज भएको गोविन्द वलीले बताए । उनको परिवारका सात जना नै दैनिक तरकारी खेतीका लागि काम गर्दछन् । तरकारी खेतीलाइ आवश्यक मल पनि घरमै उत्पादन हुदाँ मल किन्ने झण्झट पनि हटेको छ ।

‘म व्यस्त हुन्छु । बुवा भैँसी हेर्ने गर्नु हुन्छ । ठुलो परिवार भएकाले काम गर्न सहज छ । विदेशमा गएर काम सिकेर अहिले गाउँघरमा सहज भयो’ उनले भने, ‘पहिले तरकारी लगाउनलाई जग्गा जमिन कम थियो । तर अहिले धेरै जग्गा पनि जोडेको छुँ । हाल ३ विगा जग्गामा घाँस र वीउ उत्पादन सहित तरकारी खेती भइरहेको छ ।’

सहकारीबाट केहि सहुलितमा ऋण लिएको र गुर्भाकोट नगरपालिकाले पनि तरकारीको विउ, विजन दिएर सहयोग गर्ने गरेको उनी बताउँछन् । तरकारी खेतीका लागि समयमा आकाशे पानी नपर्नु, र विद्युत कम भोल्टेज हुनुले समस्या भएको उनको भनाइ छ । हाल बजारको समस्या छैन ।

अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्ने यो गतिलो उदाहरण पनि हो । आफ्नै भूमिमा पसिना बगाउँदा कृषि व्यवसायबाट मनग्य आम्दानी सहित खुुसी मिलेको गोविन्द बताउँछन् ।

घरमा तरकारी लिन आउनेलाई सहुलियतमा दिने र होम डेलीभरी गर्दा ५–१० रुपयाँ बढीमा बेच्ने गरेको उनले बताए । आकाशे पानी समयमै नपर्दा सिचाईमा समस्या रहेको उनको भनाइ छ ।

‘खेतीलाई आवश्यक पर्दा पानि पर्दैन । धाराको पानी बोकेर रातीको समयमा तरकारीमा सिचाई गर्ने गर्छु’ उनले भने, ‘रातदिन खटिनु पर्छ । विद्युत क मभोल्टेजका कारण मोटर नचल्दा तनाब हुन्छ ।’

साथै कृषि विकास निर्देशनालयलाई उनले ५० युनिटको एउटा व्याकप माग गरेका छन् । गोविन्द हाल ३१ वर्षका भए । हाल उनले तरकारी बेचेरै कमाएको रकमबाट ढुवानीका लागि एउटा अटोरिक्सा र दुई वटा मोटरसाइकल समेत किनेका छन् ।

तपाईको प्रतिक्रिया