सुर्खेतमा रात्री बस दुर्घटना हुँदा ११ जना घाइते

सुर्खेत । सिम्ता गाउँपालिका–३ स्थित मस्तरामा रात्री बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट गाउँपालिका लिस्सातर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्वरको यात्रुबहाक बस मंगलबार बिहान ३ बजेको समयमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतका प्रहरी निरीक्षक भिम बहादुर खड्काले खबरदृष्टिलाई जानकारी दिए ।



उनकाअनुसार घाइते ४ जनाको अवस्था जटिल र ८ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको अहिले सिम्ता गाउँपालिका–६ जामुने बजारमा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ ।

बसमा १९ जना यात्रु सवार रहेको र बस चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ बस्ने वर्ष २४ का प्रकाश मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएको निरीक्षक खड्काले बताए ।

तपाईको प्रतिक्रिया