बझाङमा एमालेबाट निर्वाचित को हुन् दमन भण्डारी ?

बझाङ । बझाङमा भएको प्रदेश सभाको उपनिर्वाचनमा एमालेका दमन भण्डारी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वार अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले हराउँदै भण्डारी विजयी भएका हुन् ।




भण्डारीले ११६१३ मत लिएर विजयीहुँदा काँग्रेसका सिंहले ११३४६ मत ल्याए । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।

वि.सं. २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनिति सुरु गरेका थिए ।

उनी नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववीयुमा आवद्ध भएका थिए । उनले नेपाल ल क्याम्पसबाट बिएल गरेपछि बझाङ फर्किएर थुप्रै समाज सुधारका काम गरे । २०५४ सालमा उनी नेकपा मटेला गाविसका अध्यक्ष निर्वाचित भए ।

२०५५ साल नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाबिस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष निर्वाचित हुन पुगे । त्यसपछि उनी युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बने । नेकपा एमालेभित्र राम्रो काम गर्दै गएका दमन २०६९ सालमा जिल्ला कमिटी सचिवका रुपमा चुनिए ।

२०७८ सालदेखि हालसम्म उनी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन् । उनका श्रीमति र एक छोरी तीन सदस्यिय परिवार छ । उनले यसअघि बझाङमा लैङ्गिक हिंसा विरुद्ध अभियान पनि चलाएका थिए । उनलाई एमालेभित्र सबैभन्दा इमान्दार, भद्र र शालिन पात्रका चित्रण गरिन्छ । उनले चुनावकै मुखमा बुबा पनि गुमाउनु परेको थियो ।

तपाईको प्रतिक्रिया