सुर्खेत । मंगलबार बसेको कर्णाली प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरिहरहेको थियो। तर, उक्त छलफल चलिरहदाँ मुख्यमन्त्रीदेखि मन्त्रीहरुका सबै कुर्सी खालि भए भने मन्त्रीहरुको खोजी समेत भयो।
प्रदेश सभाको बैठक सुरु हुँदा बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा र केही मन्त्रीहरु सहभागी भएका थिए। तर, नीति तथा कार्यक्रमको विषय माथी छलफल गर्दै गर्दा मुख्यमन्त्री शर्मासहित आठ वटा मन्त्रीका कुर्सी खाली भएका थिए।
बैठक सुरुभए लगतै एमालेका संसदीय दलका नेता यामलाल कँडेलले नीति तथा कार्यक्रममा भाग लिए। मुख्यमन्त्री शर्मासहित पाँच वटा मन्त्री सामाजिक विकास मन्त्री खड्ग पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर बिसी, आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह र उर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा बैठकमा थिए। तर, कँडेलले बोल्दा–बोल्दै विस्तारै मुख्यमन्त्रीदेखि मन्त्रीका सबै कुर्सी खालिहुँदै गए।


सुरुमा मुख्यमन्त्री राजकुमार शर्मा, त्यसपछि आर्थिक मन्त्री सिंह, पर्यटन मन्त्री बिसी, त्यसपछि उर्जामन्त्री विश्वकर्मा पनि विस्तारै बैठबाट निस्किए।
कँडेलले आफ्ना धारण राखेपछि नेपाली कांग्रेसका सांसद सुरेश अधिकारीले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए। बाँकी रहेका सामाजिक विकास मन्त्री पोखरेल पनि नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाही बोल्दै गर्दा बैठकबाट निस्किए।

त्यसपछि सबै सरकारका लागि छुट्टाएका सबै कुर्सी खाली भए। संसदमा एमालेका सांसदहरूले सरकारको पारा देखेर मुसुमुसु हासेर गिज्जाई रहेका थिए। भने सत्ता पक्षका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही लगायत बैठकमा सहभागी सांसहरुले पछाडी फर्केर मन्त्रीहरुलाई खोजिरहेका थिए।
सांसद वीरबहादुर शाहीले नीति तथा कार्यक्रममाथी धारणा राखिरहेको समयमा प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बीचमा उठेर कार्यक्रम अगाडी नबढाउन अनुरोध गरे।
पछाईले बाहिरतिर हेर्दै हाँस्दै भने, ‘सभामुख ज्यु। यो प्रदेश सभामा नीति तथा कार्यक्रममाथी छलफल गरिरहेका छौँ। सुन्नुपर्ने व्यक्ती यहाँ कोही पनि हुनुहुन्न। सुनाउनु पर्ने व्यक्तीले सुनाएर के अर्थ? सरकारका मन्त्रीहरु नभएको हुनाले म नियमापत्ति गर्न चाहान्छु। साथै उहाँहरुको उपस्थिति नभएसम्म बैठक अगाडी नबढाउन पनि अनुरोध गर्दछौँ।’
यस्तै, सभामुख नन्दा गुरुङले एक छिन सांसद शाहीलाई बोल्न रोक्न लगाएर सामाजिक विकास मन्त्री पाेखरेल बैठकमा सहभागी भएपछि अगाडी बढाएकी थिइन्।

नेपाल कर्म । २३ जेष्ठ २०८०, मंगलवार १८:२०