सुर्खेत । दैलेखमा आगलागी हुदा एक घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार शनिवार चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्ने चौताराका गणेश सिजापतीको घरमा आगो लाग्दा घर पूर्ण रूपमा जलेर नष्ट भयो । घर नजिकैको धाम कपासे सामुदायिक वनमा लागेको आगो हावा हुरीका कारण एक्कासि घरमा पुगेको थियो।

दुई तले ६ वटा कोठा भएको, ढुङ्गा, माटो र पत्थरले छाएको उक्त घर जलेर पूर्ण नष्ट भएको छ । यद्यपि आगो लागेको समयमा घरमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन। आगलागीबाट घरमा भएको सम्पूर्ण अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरी जनाएको छ ।


प्रहरीका अनुसार आगलागीबाट उक्त घरमा करिब ६ लाख बराबरको क्षति भएको छ । यस्तै सोही ठाउँका तुलबहादुर सिजापतीको १ तलाको चार कोठे गोठमा पनि आगो लागेको थियो । ढुङ्गा, माटोले बनेको र पत्थरले छाएको उक्त कोठामा आगलागीबाट दुई लाखको क्षति भएको छ । उक्त स्थानमा लागेको आगो नियन्त्रणका लागि प्रहरी सहायक निरीक्षक कर्णबहादुर रोकायाको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो ।
यस्तै पाँच बजेतिर नारायण नगरपालिका–३, कालिमाटी स्थित जङ्गलमा लागेको आगो हावा हुरीका कारण एक्कासि स्थानीय मन्जु बुढा क्षेत्रीको एक तले कच्ची गोठमा आगलागी हुँदा एक लाख बराबरको क्षति पुगेको दैलेख प्रहरीले जनाएको छ ।

नेपाल कर्म । १६ बैशाख २०८१, आईतवार १७:१०