जुम्ला । जुम्लाका स्याउ बगौँचामा सेलाम्मे फुल फुलेका छन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचामा फुल फुलेर सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागी फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थालेका छन ।

तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनको भनाइ छ।

जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ। तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताए । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ ।

पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।
माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म स्याउ फल्ने आशा किसानहरुको छ ।
जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीका अनुसार जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको छ ।

नेपाल कर्म । १३ बैशाख २०८१, बिहीबार १६:४४