सुर्खेत । मन्त्रालयको भागवण्डा टुंगिएसँगै नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलले एक जना मन्त्री सरकारमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्रीमा यामलाल कंडेल नियुक्त भएको दुई साता पछि माओवादी संसदीय दलका सचेतकसमेत रहेका रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

नेकपा माओवादी संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माले दलको वैठकले हुम्लाबाट निर्वाचित परियारलाई मन्त्रीको रुपमा पठाउने निर्णय गरेको जानकारी दिए । उनकाअनुसार परियारलाई विना विभागीयका रुपमा सरकारमा पठाउन लागिएको हो ।
मन्त्री छनोटमा पूर्व मन्त्रीहरु पठाउने की नयाँ पठाउने भन्ने विषयमा सकस भएको हो भन्ने प्रश्नमा शर्माले भने, ‘मन्त्री छनोटमा कुनै समस्या छैन मुख्यमन्त्री ज्यूले विश्वासको मत लिनु अघि नै एक जना मन्त्री पठाएका छौं । बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत पाइसकेपछि माओवादीबाट सहभागी हुने मन्त्रीहरुको नाम दिन्छु त्यसपछि सरकारले पूर्णता पाउँछ ।’


बैठकले मुख्यमन्त्री कंडेललाई विश्वासको मत दिने निर्णय समेत गरेको छ । कँडेलले भोली संसदबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कँडेल गत चैत्र २७ गते नियुक्त भएका हुन् ।

नेपाल कर्म । १२ बैशाख २०८१, बुधबार ०९:२७