मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने, मन्त्री विस्तार भोली

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार (बैशाख १३) गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि पत्र मुख्यमन्त्री कँडेलले संसद सचिवालयमा पठाइसकेका छन् ।



गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले चैत्र २८ गते सपथसँगै पदभार ग्रहण गरेका थिए । कँडेलले विश्वासको मत लिनुअघि मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले लिने मन्त्रालयको भागवण्डा टुंगिएसँगै भोली मंगलबार माओवादीबाट मन्त्रीले सपथ लिने छन् ।

एमाले उच्च स्रोतकाअनुसार माओवादीले मंगलबार मन्त्रीहरुको नाम पठाउँदैछ । विश्वासको मतअघि एमालेबाट मन्त्रीहरु सहभागी हुने छैनन् । ‘मन्त्रालयको टुंगो लागिसक्यो । भोली माओवादीहरुले सरकारमा सहभागी मन्त्रीहरुको नाम पठाउनुहुन्छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘उहाँहरुको सपथसँगै मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिएपछि लगत्तै मन्त्री परिषदले पूर्णता पाउँछ ।’

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि माओवादीबाट मन्त्रीहरु सहभागी भएर बुधबार (भोली) नै सपथ लिनेगरी तयारी भइरहेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले नेपालकर्मलाई जानकारी दिए ।

सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने माेटामोटी सहमति भएको छ ।

एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिनेछ ।

गठबन्धन दल माओवादी र एमालेले मन्त्रालयको भागबन्डाको विषयमा टुंगोमा नपुग्दा मन्त्री परिषद् विस्तारमा ढिलाइ भएको हो । मन्त्रालयको भागवण्डा टुंगोमा पुगेपनि माओवादी भित्र यसअघिका मन्त्रीहरु नै दोहोरिने की नयाँ सहभागी हुने भन्ने विषय अन्यौल देखिएको छ ।

माओवादी उच्च नेतृत्वले विन्दमान विष्टको नेतृत्वमा सरकारमा सहभागी हुन भनेपछि पूर्व मुख्यमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता राजकुमार शर्मालाई नयाँ मन्त्रीहरुको नाम टुंग्याउन कठिन भइरहेको माओवादी स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया