नेतृत्वमा पढेको मानिस भए फरक पर्छ : सीके राउत

सुर्खेत । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन्। पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल कर्णाली साहित्य महोत्सव अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रुपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए।



उनले नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्नेमा जोड दिए। ‘अहिले किन पढ्नुप¥यो भन्ने खालको भाष्य पैदा भईरहेको छ। तर, त्यो गलत हो,’ उनले भने, ‘पढ्नु एकदमै आवाश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ।’

अहिलेको सूचनाप्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए। मानिसले बर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए। ‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैंले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें।’। राउतले भने।

वर्तमानमा ‘पढेलेखेकाहरुले देश बिगारे’ भन्ने भाष्य समाजमा निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन नसकेको राउतले बताए। ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढेलेखेकाहरुले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन।’

उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे। पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्व घटेको उनले बताए। संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए।

तपाईको प्रतिक्रिया