उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्षसहित १६ जनाले विशेष अदालतबाट पाए सफाइ

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसहित १६ जनाले विशेष अदालत काठमाण्डाै‌ंबाट सफाइ पाएका छन् । कर्णाली कोल्ड चेन निर्माणको ठेक्कापट्टामा रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ साउन २०८० मा उनीहरुविरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको थियो । सोमबार विशेष अदालतका न्यायधिशद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको संयूक्त इजलासले उक्त मुद्दामा अख्तियारले प्रतिवादी बनाएका अध्यक्ष कँडेलसहित १६ जनालाई निर्दोश ठहर गरी सफाइ दिएको हो ।



वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माणको काममा वास्तविक कामभन्दा बढी भुक्तानी भएको उजुरी पश्चातको अनुसन्धानमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार विशेष अदालत पुगेको थियो ।

अख्तियारले तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीसहित गणेश भण्डारी, हरिप्रसाद पण्डित, हरिबहादुर थापा, भक्तिराम शर्मा, गुरुप्रसाद अधिकारी, उत्तमकुमार बस्नेत, खिमलाल वली, सुरेश कुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्णराज भारती, कलाधर उपाध्याय, लक्ष्मण कँडेल, प्रवल शाही र महेश शर्मालाई प्रतिवादी बनाएको थियो ।  तर, अख्तियारको दावी अनुसार कोल्ड स्टोर निर्माणमा कुनै पनि अनियमितता नभएको भन्दै उनीहरु सबैलाई सफाइ दिएको हो ।

तपाईको प्रतिक्रिया