टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध फेरि भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।




पेमेण्ट गेट(वे सम्बन्धी उपकरण खरिद प्रकरणमा शुक्रबार मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुनस् अर्को मुद्दा दायर गरेको हो ।

पौडेलविरुद्ध २०८० असोज १५ गते पेमेण्ट गेट(वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएकोमा त्यसको किनारा लगाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो । पछिल्लोपटक २०८० माघ १० गते सुनिल पौडेल र अर्का भ्रष्टाचार आरोपिक विकल पौडेललाई अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेको थियो ।

पक्राउ परेको तीन महिना पछाडि अख्तियारले विशेषमा मुद्दा लगेको हो । अख्तियारको अभियोगपत्र अहिले विशेष अदालतमा रुजु भइरहेको अदालतका एक अधिकारीले ईकान्तिपुरलाई जानकारी दिए ।

सुनिलसँगै पक्राउ परेका विकलका विषयमा भने अनुसन्धान जारी रहेको छ । अनुसन्धानका क्रममा अख्तियारले विकलले अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको खुलेपछि आइतबार नै विकलविरुद्ध सो सम्बन्धी अर्को मुद्दा विशेष अदालतमा दायर गरेको हो ।

तपाईको प्रतिक्रिया