कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीले जित्यो

बागलुङ । चैतेदशैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ।



उपाधिका लागि आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझो सेटमा घुम्टे रेष्टुरेन्टलाई पराजित गर्दै उपाधि जितेको हो। जितसँगै आर्मी क्लबले ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

आर्मीसँग हारेको घुम्टे रेष्टुरेन्टले उपाधिको दोस्रो पुरस्कारमा चित्त बुझाएको छ। फाइनल खेलको पहिलो सेटमा त्रिभुवन आर्मीले घुम्टे रेष्टुरेन्टलाई २५–१८, २५–१२ र २५–२२ अङ्कले पराजित गरेको थियो।

बुधवार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेन्टले कालिका युवा क्लबलाई सोझो सेटमा पराजित गरेका थिए।

तेस्रो पुरस्कार भने कालिका युवा क्लबलाई सोझो सेटमा हराउँदै कस्तुरी युवा क्लबले हात पारेको छ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तृतीयले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका भलिबल खेल संयोजक अर्जुन खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया