सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा पाठेघर सफा गर्न पुगेकी दैलेखकी भीमा गुरुङको मृत्यु भएपछि आफन्तहरुले शव अस्पतालमै छाडेर घर फर्किएका छन् । विभिन्न माग राख्दै प्रदर्शन गरेपनि माग सुनुवाइमा जिम्मेवार नभएको भन्दै आफन्तहरुले भीमको शव नबुझेर आफन्त दैलेख फर्किएका हुन् ।
आमाको मृत्यु भएपछि ८ महिने दुधे नाबालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेण्टी र घटनाको उच्च स्तरिय छानविन समिति गठनको माग राखेर आफन्तले आन्दोलन गरेका थिए ।
तर शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भिरतापूर्वक नलिएकाले शव नबुझेर घर फर्किएको मृतक भीमाका बुवा गोविन्दबहादुर गुरुङले जानकारी दिए ।

‘हाम्रो घरपरिवारको सदस्यको अकल्पनिय, अस्वभाविक एवम् असमाहिक मृत्यूका कारण पिंडामा तड्पिरह्यौं,’ गुरुङले भने, ‘गरिव परिवारका मानिस सुर्खेतजस्तो महँगो सहरमा बस्न र आन्दोलन गरिरहन नसक्ने अवस्था भएकाले मृतक भिमा गुरूङ्गको लाशलाई यहीँ प्रदेश अस्पतालमै छोडेर आफ्नो घर जान लागेको छौं ।’

दैलेखको आठबीस नगरपालिका–५ पिपलकोट घर भएकी २२ वर्षीया गुरुङ हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उनको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएको थियो ।
तल्लो पेट दुख्ने र रगत बग्ने समस्या भएपछि नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा सिपाही पदमा कार्यरत भिमाका श्रीमान् नमराजले अस्पताल पुर्याएका थिए । तर उपचारका क्रममा ज्यान गएपछि परिवार र आफन्तले अस्पतालको टोलीले अप्रेसनमा लापर्बाही गरेको आरोप लगाउँदै आएका छन् ।


नेपाल कर्म । ५ बैशाख २०८१, बुधबार १६:२७