सुर्खेत । सडक बत्तीको लाइन काट्न पुगेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका कर्मचारीलाई स्थानीयले रोकेका छन् । वीरेन्द्रनगर–८ गुराँस टोलमा सडक पोलमा राखिएका वत्तीको लाइन काट्न गएका कर्मचारीहरुलाई स्थानीयले रोकेका हुन् ।

प्राधिकरणले सडक किनाराका विद्युतका पोलहरुमा जडान वापतको बक्यौता शुल्क नतिरेको भन्दै लाइन काट्ने अभिायन नै थालेको छ । प्राधिकरणले हालसम्म वीरेन्द्रनगरका विभिन्न टोल एक हजार पोलमा जडान गरिएका सडक वत्ती हटाएको छ । सोही क्रममा मंगलबार विहान गुराँस टोलमा लाइन काट्न गएका विद्युतका कर्मचारी र स्थानीयविच भनाभन चलेको हो ।
जसरी पनि लाइन काट्ने भन्दै विद्युतका कर्मचारी झोक्किएपछि स्थानीयले पोल नै उखलेर लैजाउ भनेपछि विवाद भएको थियो । स्थानीयले कुनै हालतमा वत्तीको लाइन काट्न नदिने अडान लिएका छन् ।


वितरण केन्द्र सुर्खेतका प्रमुख अशोक लोहनीले २०७३ यता वीरेन्द्रनगरका विभिन्न टोल तथा सडक किनाराका पोलहरुमा जडान गरिएका वत्तीका बक्यौता नतिरेकाले लाइन काट्न थालिएको जानकारी दिए ।
‘जरिवनासहित करिव पाँच करोड बक्यौता उठाउन बाँकी छ,’ उनले भने, ‘हामीले शहर अन्धकार बनाउन लाइन काटेको हैन् । अव्यवस्थित सडक वत्ती वापतको शुल्क उठाएर व्यवस्थित गर्न खोजिएको हो ।’

नेपाल कर्म । ४ बैशाख २०८१, मंगलवार १०:४०