सुर्खेत । राजनीतिको उच्च ओहोदामा पुगेकाहरु अधिकांश समय आफ्ना वरिपरी कडा सुरक्षाको घेरामा हिँडडुल गर्ने गर्दछन् । उनीहरुसँग आम नागरिकको खासै पहुँच हुँदैन ।

चाहे केन्द्र सरकारकाका मन्त्रीहरु हुन या प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीहरु हरेक समय भिआइपी सवारमा हिँड्न रुचाउछन् । यिनै भिआइपको भिडमा अपवाद बनेका छन् कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल ।
कँडेल आइतबार प्रदेश राजधानी सुर्खेतबाट संघीय राजधानी जाने क्रममा तामझाम बिनै सुर्खेत विमानस्थलमा पुगे । विशेष कामले राजधानी हानिएका मुख्यमन्त्री कँडेल विमानस्थलमा आम नागरिकका रुपमा पुगेका थिए ।

विमानको पर्खाइ गरिरहेका आम नागरिकको लाइनमा बसेका कँडेललाई सुरुमा कसैले हेक्का गरेनन् । तर सुर्खेत विमानस्थलमा भने सुरक्षाकर्मीहरूले भिआइपी कक्षबाट प्रवेश गराएर जहाजसम्म पुर्याएका थिए ।

काठमाडाैं विमानस्थलमा अवतरणपछि कँडेलले भिआइपी सवारीकाे प्रयाेग नगरेर उनी नागरिकहरूसँगै बस चढेर आन्तरिक विमानस्थल बाहिर पुगेका थिए ।
विमानस्थल बाहिर पुगेका कँडेल सामान्य सवारीमै जान खाेजेका थिए । तर गृह मन्त्रालयले मुख्यमन्त्रीकाे सुरक्षा दिन आदेश भइसकेकाे भन्दै राेकेका थिए ।
जनताबाट निर्वाचित भएकाले तडकभडक गर्नु उचित नभएकाे र खर्चिलाे बनाउन आवश्यक नरहेकाले नागरिकसँगै यात्रा गरेकाे एक नेताले बताए । कँडेल विमानस्थलबाट एमाले पार्टी कार्यालय ललितपुरकाे च्यासल पुगेका थिए ।

नेपाल कर्म । २ बैशाख २०८१, आईतवार १९:१६