सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ । नगरपालिकामा भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि नगरपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।
शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को कक्षाहरुमा पुनः भर्ना शुल्क नलिन भन्दै नगरपालिकाले नियमावली विपरित जानेलाई कडा कारवाही गर्ने नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले चेतावनी दिएका छन् ।
नगरपलिकाले संस्थागत विद्यालयको भर्ना तथा शुल्क निर्धारण वर्गिकरणको लागि निर्देशिका बनाएर जाने प्रयास गरिरहेकोसमेत बताएको छ । भर्नाको नाममा यदि नियम भन्दा बाहिर रहेर रकम लिएको पाइएमा नियम अनुसार कारवाही गर्ने र रकम फिर्तासम्म गराउने नगरपालिकाको भनाई छ ।

नगरपालिकाले अनुमति लिएका कक्षाहरुमात्र अनिवार्य सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीको पोशाक तथा पुस्तक एवम् अन्य सामाग्रीहरु खरिद गर्न बाध्य नपार्ने, विद्यालय हाता र कक्षाकोठा सरसफाई तथा व्यवस्थापन गर्ने कार्यलाई बालमैत्री, सिकाइमैत्री र प्रविधिमैत्री बनाउने कार्यमा जोड दिन पनि आग्रह गरेको छ ।

बालविकासदेखि कक्षा १२ सम्म परिमार्जन गरिएको राष्ट्रिय पाठ्यक्रम र नगरपालिकाले विकास गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ र पाठ्यसामाग्रीको अनिवार्य रुपमा प्रयोग गर्न गराउन आग्रह गरेको छ ।
कर्णाली प्रदेशको राजधानीकाे वीरेन्द्रनगर नगरपालिका भित्र ९४ वटा संस्थागत र २३ वटा मन्टेश्वरी विद्यालयहरु रहेका छन् । शैक्षिक सत्र २०८१ को लागि आज (आईतबार) बाट दशैभर भर्ना अभियान सुरु गरिएकाे छ ।

जगतप्रसाद लम्साल । २ बैशाख २०८१, आईतवार १५:३८