सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुगेकी महिलाको मृत्युपछि आफन्तहरुले आन्दोलन जारी राखेका छन् । गत चैत २९ गते पाठेघरमा समस्या देखिँदा उपचारका लागि अस्पताल पुगेकी दैलेख आठविस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीय भीमा रिजुका गुरुङको मृत्यु भएको थियो ।

मृत्यु भएदेखि नै आफन्तहरुले अस्पतालमा आन्दोलन गरेका थिए । दुई दिनसम्म अस्पताल केन्द्रीत आन्दोलन गरेका आफन्तहरुले शनिवारदेखि यरिचोकमा आन्दोलन जारी राखेका छन् । यरिचोकमा टायर बालेर पीडितहरुले प्रदर्शन जारी राखेपछि दवावका लागि अहिले उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडी पुगेका छन् ।

अस्पताल प्रशासन र पीडित परिवारविच पटक–पटक वार्ता गरिएपनि सहमति भएको छैन् । पीडित परिवारले उचित क्षतीपूर्ती, ८ महिने बालिकाको भरणपोषण, रोजगारीको व्यवस्था र दोषि चिकित्सकलाई कारवाही गर्नुपर्ने माग छ ।
तर अस्पताल प्रशासनले उच्च स्तरीय छानविन समिति गठन र रोजगारी दिलाउने विषयमा सहमत भएपनि पीडित परिवारले मानेका छैनन् । ‘अस्पतालले क्षतीपूर्ती र बालिकाको भरणपोषण गर्ने सवालमा हामी सक्दैनौं,’ अस्पतालका प्रा.डा. निर्देशक डम्बर खड्काले भने, ‘अस्पतालबाट अप्रेशनका क्रममा कुनै त्रुटी भएको छैन् । १० हजार जनामध्य एक जनामा यस्तो समस्या हुन्छ । चिकित्सकहरुले उपचारमा कुनै कमजोरी गरेका छैनन् ।’

खड्काकाअनुसार स्थानीय प्रशासन वा सामजिक विकास मन्त्रालयले गठन गर्ने उच्च स्तरीय छानविन समितिलाई हामी सहयोग गर्न तयार छौं । समिति गठन पश्चात् प्रतिवेदनका आधारमा चिकित्सक दोषी देखिएमा कारवाही गर्न प्रशासन तयार रहेको खड्काले जानकारी दिए ।
उनले अस्पतालप्रति पीडित परिवारले लगाएका अन्य आरोप निराधर भएको बताए । ‘ब्लडग्रुप गलत चढाएको र मृर्गौला निकाले भन्ने आरोपहरु सत्य हैनन्,’ खड्काले भने, ‘शवलाई सुरक्षित राखिएको छ । पोष्टमार्टमपछि पनि धेरै कुराहरु खुल्छन् । अस्पतालप्रति लगाएका लाञ्छना सबै गलत हुन् ।’
यता पीडित परिवारहरूले माग सम्बाेन्धन नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । मृतक गुरुङका आफन्त कृष्णबाबु गुरुङले अस्पतालकै लापरवाहीले बुहारीको मृत्यु भएको आरोप लगाए । उनले आफूहरुले उठाएका माग सम्बोन्धन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

नेपाल कर्म । २ बैशाख २०८१, आईतवार १३:४८