डोल्पा । त्रिपुरासुन्दरी —४ स्थित सामुदायिक वनमा आगलागीमा परेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले जानकारी दिए । सो आगलागीमा तीन बालबालिका घाइते भएका थिए। बाँकी दुई जनाको थप उपचारको लागि काठमाडौं लैजानका लागि चिकित्सक सहित हेलिकप्टर आउन लागेको प्रजिअ दाहालले बताए ।

बिहिबार साझ गाउँनजिकै गुच्ची च्याउ टिप्न गएका उनीहरु वनमा लागेको डढेलोमा परी घाइते भएका थिए। घाइते भएका बालबालिकालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो। धेरै प्रयास गर्दा पनि सुलस बुढालाई बचाउन नसकिएको डक्टर अखण्ड उपाध्यायले बताए ।
अन्य दुई घाइते बालक उपचारपछि निको हुन सक्ने आशा रहेको उनको भनाइ छ । घाइते भएका तीन जनामध्ये कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि काठमाडौं लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले जानकरी दिए ।
बिहिबार नै सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरका लागि कुरा गरे पनि मौसमका कारण आउन सकेन। गाउँ नजिकै रहेको बनमा लागेको आगलागीमा परेर एक घरका दुई दाजुभाइसहित तीन बालक गम्भीर घाइते भएका थिए ।

नेपाल कर्म । ३० चैत्र २०८०, शुक्रबार ११:२४