सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा एक महिनादेखि बन्द भएको दुई वटा विभाग खुलेका छन्। यसअघि विभागमा कार्यरत डाक्टरहरू सरूवा भएर गएपछि विभाग बन्द भएका थिए।

उनीहरूको सरूवा भएर जानेबेलासम्म पनि केन्द्रबाट खटाइएको विशेषज्ञ डाक्टर नआएकाले केही दिन विभाग नै बन्द गर्नुपरेको प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।

विभागमा तीन वर्ष काम गरेका विशेषज्ञ डाक्टरहरू सरूवा भएर गएपछि मुटुरोग विभाग तीन हप्ता बन्द भएको थियो। न्यूरोसर्जरी विभाग भने एक हप्ता मात्र बन्द गर्नुपरेको खड्काले बताएका छन् ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरहरू अस्पताल आएकाले दुवै विभागका सेवा पुनः सुरू गरिएको हो । ‘डाक्टरहरू यहाँ हाजिर गर्न ढिला गर्नुभएको थियो, उहाँहरू आइसकेपछि हामीले दुवै विभागका सेवा खुला गरेका छौं,’ डा. डम्बर खड्काले भने ।
अहिले न्युरोसर्जन विभागमा डा. ओमविक्रम शाह र मुटुरोग विभागमा डा. सुतप यादव आएका छन्। तीन वर्षदेखि काम गर्दै आएका न्यूरोसर्जन डा. निलम खड्का काज सरूवा भएर ट्रमा अस्पताल काठमाडौं फर्किएपछि उक्त विभाग खाली भएको थियो।

नेपाल कर्म । २६ चैत्र २०८०, सोमबार १३:२२