सुर्खेत । नेपाल प्रहरीका पूर्व सहायक प्रहरी निरीक्षकले जेठी श्रीमतीको हक लाग्ने सम्पत्ती सुटुक्क कान्छी श्रीमतीका नाममा बनाएपछि जेठी श्रीमतीको विचल्ली भएको छ । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँ स्थायी ठेगाना भएका प्रेम चन्दले प्रहरीबाट अवकाश पाएपछि पेन्सनपट्टादेखि अन्य सम्पत्तीमा कान्छी श्रीमतीको हक राख्दा जेठी श्रीमती सीता चन्दको विचल्ली भएको हो ।
प्रेमसँग सीताले २०५८ सालमा विवाह गरेकी हुन् । प्रहरीमै कार्यरतहुँदा प्रेमले २०६७ सालमा कान्छी श्रीमती ल्याए । २०६१ सालमै जेठी श्रीमती सीताको विवाह दर्ता र नागरिकता बनाइदिएका प्रेमले अहिले नेपालगञ्जका कान्छी श्रीमतीसँगै बस्दै आएका छन् ।


उनले नेपाल प्रहरीबाट अवकाश भएपछि पेन्सनमा सीताको हक लाग्ने भएपनि सबै विवरण कान्छी श्रीमतीको नाम राखिदिएका छन् । ‘१५ वर्षसम्म श्रीमानको माया पाएन्, अहिले छोरी पढ्दै छिन् । नेपाल प्रहरीको प्रधान कार्यालयकै कागजमा मेरा सबै प्रमाण हटाएर कान्छी श्रीमतीको नाम राख्नु भएछ,’ सीताले पत्रकार सम्मेलनमा भनिन्, ‘श्रीमानबाट त पीडा पाएकै थिए । सबै प्रमाण आफैसँगहुँदा पनि अदालतले न्याय दिएन् ।’
श्रीमान जागिरमैहुँदा आफूले आधा तलव लिएको बताउँदै सीताले अहिले जागिर छाडेर सबै हक कान्छीको लाग्ने बनाएपछि छोरी र आफ्नो विचल्ली भएको बताइन् । ‘छोरी उच्च शिक्षा पढ्दैछिन् । उनको शुल्क मात्रै ४० हजार बढी आएको छ,’ सीताले प्रश्न गरिन्, ‘आधिकारिक श्रीमती आफू नै भएको स–प्रमाण पेश गर्दा पनि अदालतले अन्याय ग¥यो । आफू विरामी छु, छोरीलाई कसरी पढाउने अनि मलाई न्याय कसले दिने ?,’
पत्रकार सम्मेलनमा पीडा सुनाउँदै सीता चन्द

श्रीमानले कान्छी श्रीमती ल्याएको धेरैपछि थाहा पाएपनि बहुविवाहको मुद्दा नहालेको उनको भनाई छ । ‘बरु मिलेरै बसौं भनेर श्रीमानलाई भनिरहे । नारीको कोमल मनले मुद्दा हालेपछि झन तनाव होला भनेर दुःख दिन ठानिन्,’ सीता थप्छिन्, ‘माइती र पराईघरको ईज्जतका लागि छोरी हुर्काएर बसे । दुवै पक्षबाट साथ र सपोर्ट पाए । तर श्रीमानले अन्तिममा आएर आफ्नो पेन्सन र पाउनु पर्ने अन्य हकमा कान्छी श्रीमतीको नाम राखेपछि अन्यायमा परे ।’
नेपाल प्रहरीबाट अवकाश पाएका प्रेम हाल नेपालगञ्जमा बस्दै आएका छन् । १५ वर्षसम्म सम्पर्कविहिन भएपछि पेन्सनमा कान्छी श्रीमतीको नाम राखेको नेपालकर्मलाई जानकारी दिए ।
‘जागिरको अवधिमा मैले कमाउने २४-२५ लाख हुँदो हो, त्योमध्य १७ लाख मैले उसलाई दिइसकेको छु,’ प्रेमले भने, ‘दैलेख जिल्ला अदालतमा आधा तलव पाउँभन्दै मुद्दा हालेपछि त्यो पनि दिएको हुँ । मेरो सम्पर्कमा नरहेपछि अहिले बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेको छु । सुर्खेत उच्च अदालतले मसँग जोडिएका कागजात नक्कली भएको फैसला गरेसकेको छ ।’
उनले आफूमाथि लगाएका आरोप निराधार रहेको र जेठी श्रीमतीले पाउनुपर्ने जति सबै दिइसकेकाले छोरीको पठनपाठनका लागि खर्च व्यहोरिरहेको बताए । उनले छाेरीलाइ नेपालगञ्ज घरबाटै पढ्ने वातावरण मिलाउछु भनेपनि नमान्दा अलग्गै बसिरहेकाे उनले जानकारी दिए ।

सुशील खड्का । २६ चैत्र २०८०, सोमबार १०:१९