काठमाण्डाैं । २७ चैतसम्म ‘ग्रेडवृद्धि’को परीक्षा जारी रहे पनि गत शुक्रबार नियमित विद्यार्थीको एसईई परीक्षा सकिएको छ । यो समयमा परीक्षा सकेका विद्यार्थीहरू के गर्ने भन्ने अलमल सिर्जना हुने गरेको छ ।
‘ब्रिज कोर्स’, कम्युटर सिकाइजस्ता अतिरिक्त सीप सिक्ने ट्रेन्ड रहे पनि अधिकांश विद्यार्थीमा आफूलाई कुन क्षेत्रमा अघि बढाउने भन्ने अलमल देखिन्छ । अभिभावकमा पनि आफ्ना केटाकेटीलाई डाक्टर, इन्जिनियर बनाउने रहर हाम्रो समाजमा देखिन्छ ।
यो अवस्थामा विद्यार्थीहरूमा ‘के सीप सिक्ने ? आफ्नो रुचिअनुसार विषयहरू कसरी छनोट गर्ने ? ट्रेन्डमा रहेको ब्रिज कोर्स कति उपयोगी ?’ भन्नेजस्ता कुरा खेलिरहेका हुन्छन् । विद्यार्थीका यस्तै जिज्ञासा चिर्न हामीले विज्ञसँग सोधेका छौँ ।

‘एडिसनल’ कुरा सिक्नुपर्छ, किताब पढ्नुपर्छ’
आशिष तिवारी, प्रधानाध्यापक, एस कलेज
यो समयमा विद्यार्थीले आफ्नो क्षमता कुन क्षेत्रमा हो भनेर पत्ता लगाउन उपयोग गर्नुपर्ने हुन्छ । आफ्नो क्षमता र कमजोरी पत्ता लगाउन र आफूलाई आफ्नो रुचिअनुसार अघि बढाउन यो खाली समय उत्तम हुन्छ । त्यहीअनुसार सीपहरू सिक्नका लागि लगानी गर्नुपर्छ ।
आफ्नो रुचिको क्षेत्र पत्ता लगाएर थप अगाडि पढ्नका लागि विषय छनोट गर्ने कुरामा विद्यार्थीले आफूलाई तिखार्नुपर्ने हुन्छ । यदि क्षमता छ तर रुचि छैन भने पनि काम बन्दैन । जबर्जस्ती वा साथीभाइको भनाइमा लागेर विषय छनोट गर्दा पनि भविष्यमा सोचेजस्तो नतिजा पाइँदैन । त्यसैले विद्यार्थीले यी कुराहरूमा आफूलाई स्पष्ट बनाउन यो समयको सदुपयोग गर्नुपर्छ ।
समयमा गरेको लागानीले उच्च शिक्षा अध्ययन गर्ने आधार तयार गर्न मद्दत गर्छ । यो ‘फाउन्डेसन’ भनेको उच्च शिक्षामा गएर गरिने पढाइका लागि एउटा महत्त्वपूर्ण आधार हुन्छ । त्यसैले अब पढ्दा पनि कुन कलेजमा पढ्ने, के पढ्ने भन्ने कुराको ख्याल गर्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा चाहिँ के छ भने, यो समयमा विद्यार्थीले कलेजहरूमा पाइनेभन्दा ‘एडिसनल’ कुराहरू सिक्नुपर्छ । जस्तो– आईटीका सीपहरू, विश्लेषणात्मक क्षमता, आलोचनात्मक चेतको विकास गर्ने, रचनात्मक सीपहरू सिक्न जरुरी छ । ‘इमोसनल इन्टेलिजेन्स’ बढाउन त्यहीअनुसारको काम गर्ने, बाहिरी किताबहरू धेरै पढ्नमा जोड गर्नुपर्छ ।
ब्रिज कोर्स नै गर्दा पनि त्यसको ‘कन्टेन्ट’ के छ भनेर हेर्नुपर्छ । गर्दा नराम्रो होइन, थप ज्ञान बढ्छ । तर, बजारमा जे आयो, त्यसैमा हाम फालिहाल्नुभन्दा सोचविचार गरेर त्यसको विषयवस्तु हेरेर पढ्न आवश्यक छ । अहिलेको समयमा गरिने मिहिनेत जीवनका लागि गरिने ठूलो लगानी हो, त्यसैले विद्यार्थीका लागि एसईईपछिको समय अति महत्त्वपूर्ण छ ।
‘परिवारसँग समय बिताउने, उपयोगी ब्रिज कोर्स पढ्ने’
उदय पौडेल, प्रधानाध्यापक, क्वेस्ट इन्टरनेसनल कलेज
एसईईभन्दा माथिल्लो तहमा पढ्नका लागि चाहिने आवश्यक सीपहरू सिक्नुपर्छ । घुमघाम गर्ने, नयाँ ठाउँहरू हेर्ने गर्नुपर्छ । परिवारले गरिरहेको पेसामा सहयोग पुर्याउने, हजुरबा–हजुरआमासँग समय बिताउने, कुराहरू सुन्ने गर्दा यसले पनि धेरै ज्ञान बढाउँछ । किताबहरू पनि पढ्नुपर्छ ।

सरकारले कक्षा १० बाट कक्षा ११ मा जानुलाई कक्षा ५ बाट ६ मा गएजस्तै बनाएको छ । तर, प्राविधिक रूपमा त्यस्तो बनाए पनि ‘करिकुलम ग्याप’ भने धेरै छ । यो ग्याप भएकाले कक्षा १० र ११ को बीचमा त्यसलाई मिलाउन ब्रिज कोर्स लिँदा सहयोगी नै हुन्छ । उच्च शिक्षा पढ्नका लागि आवश्यक ‘फाउन्डेसन’ तयार गर्नमा जोड दिनुपर्छ । तर, बजारमा अनेक थरी ब्रिज कोर्स भेटिने भएकाले सचेत भएर राम्रोसँग हेरेर बुझेर मात्र गर्नुपर्छ ।
‘विद्यार्थीले सचेत भएर कलेज छान्नुपर्छ’
गोपाल पाण्डे, शिक्षाविद्
विद्यार्थीले यो समयमा सचेत भएर राम्रो कलेज छान्नुपर्छ । उच्च शिक्षाका लागि पनि अहिले कक्षा ११ र १२ मा राम्रो कलेज पढ्नुपर्छ । त्यसका लागि आफैँ फिल्डमा गएर कलेज छान्नुपर्छ । कलेजका अग्रज विद्यार्थीलाई सोधेर बुझ्न समय लिने गर्नुपर्छ ।
जस्तो; कतिपय कलेजले राम्रा प्राध्यापक देखाएर सुरुमा लोभ्याउन खोज्छन् । तर पछि गएर केही महिनामै ती प्राध्यापकहरू त्यहाँबाट हट्ने गरेको पनि देखिन्छ । यो ट्रेन्ड कलेजमा कस्तो छ भनेर बुझेर मात्र पढ्न जान अनुरोध गर्छु । मेरै नाम पनि धेरै कलेजहरूले प्रयोग गरेर बिकाइरहेको पाउँछु, मैले नै उजुर गरेपछि मात्र हटाएका हुन्छन् । यस्ता कुरामा विद्यार्थीले सचेत भएर कलेजहरू छान्नुपर्छ ।
‘कसैको करकापमा नपरी रुचिको विषय छनोट गर्नुपर्छ’
विशाल श्रेष्ठ, कोओर्डिनेटर सायम कलेज
एसईईपछि विद्यार्थीले पहिला त केही यात्रा गरेर नयाँ अनुभव लिनुहोस् । त्यसपछि आफ्नो इच्छा केमा छ भनेर हेर्नुपर्छ । उच्च शिक्षालगायत पछिका लागि पनि यो खाली समय एकदमै उपयोगी हुने भएकाले आफूलाई चाख लागेका पाठ्यक्रम पढ्ने, नयाँ कुराहरू सिक्ने र आफूलाई पूर्ण बनाउन खर्चनुपर्छ ।
अधिकांश विद्यार्थीले लहैलहैमा लागेर वा दबाबमा आएर आफूले पढ्ने विषय छनोट गर्ने गरेको पनि पाइन्छ । त्यसैले कसैले भनेको वा कर गरेको भरमा कक्षा ११/१२ मा पढ्ने विषय छनोट नगर्नुहोला । जुनसुकै विषय रोज्दा वा अध्ययन गर्दा आफूलाई मनपरेको विषय छानेर पढ्नु नै उपयोगी हुन्छ ।
‘व्यावहारिक ज्ञान सिक्न चासो दिनुपर्छ’
विद्यानाथ कोइराला, शिक्षाविद्
विद्यार्थीले स्कुलमा सैद्धान्तिक ज्ञान सिकेर आएका हुन्छन् । त्यसैले यो समयचाहिँ व्यावहारिक अनुभव (क्षमताअनुसार) लिने र व्यावहारिक पढाइ गर्नेमा ध्यान दिनुपर्छ । अहिले बजारमा ब्रिज कोर्सको ट्रेन्ड पनि देखिएको छ । तर, मेरो विचारमा यो ‘ब्रिज कोर्स’ चाहिँ खासै उपयोगी देखिँदैन । ब्रिज कोर्समा कक्षा १० र ११ मा ब्रिज गराउने तरिका भएको भए वा पढाइ व्यवहारमा जोड गरिदिएको भए ब्रिज हुन्थ्यो । अहिले जे देखिएको छ, त्यो ब्रिज कोर्स बनिरहेको छैन । त्यसैले बजार हल्ला र बजारका विज्ञापनभन्दा पर रहेर व्यावहारिक सीप सिक्नेतर्फ विद्यार्थीले ध्यान दिनुपर्छ । (शिलापत्र)

नेपाल कर्म । २६ चैत्र २०८०, सोमबार ०९:४१