सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिले सरकारी जग्गाको सोधीखोजी गरिरहेको छ । समितिको नाममा रहेको जग्गा विभिन्न व्यक्तिहरुले लिएकाले र पुनः सरकारी जग्गा समितिकै नाममा फिर्ता ल्याउन लागेपछि व्यवसायी प्रेम हमालले आफै सरकारी जग्गा खाली गर्न लागेका हुन् ।
वीरेन्द्रनगर–८ सिमलचाैकमा हमालले चिकेन स्टेशन सञ्चालन गर्न समितिबाट जग्गा भाडामा लिएका थिए । तर पछिल्लो समय समितिले आफ्नो नाममा रहेका जग्गाहरु धमाधम खाली गर्न थालेपछि एक करोड ८० लाख लगानीमा निर्माण गरिएको संरचना हमालले हटाउन शुरु गरेका छन् ।


हमालले २०७५ सालमा समितिको नाममा रहेको १८ मिटर लम्बाइ र १४ मिटर चौडाइ रहेको जग्गा भाडाका लागि सम्झौता गरेका थिए । समितिले उनले बनाएको संरचना हटाउन सूचना जारी गरेको थिएन् ।

‘कुनै बेला सूचना जारी भएपछि हटाउनु पर्ने नै होला । तर सूचना नआउनु पूर्व नै सरकारी जग्गा खाली गर्न लगेको छु,’ व्यवसायी हमालले भने, ‘समितिले अनेत्र बनेका संरचना खाली गराइरहेको छ । पहिला नै सहयोग स्वरुप भौतिक संरचनाहरु हटाइरहेको छु । चैत मसान्तसम्म खाली गरिसक्छु ।’
हरेक दुई-दुई वर्षमा नविकरण गर्दै आएका थिए । समितिले यसअघि वीरेन्द्रनगरको घण्टाघर क्षेत्र, हंकङ बजार, गोदाम र हटियालाइन क्षेत्रका संरचनाहरु खाली गरिसकेको छ । यसपछि बसपार्क क्षेत्रमा बनेका अस्थायी संरचना र अनेत्र रहेका समितिको नामका जग्गाहरु खाली गराउने अभियान जारी राख्ने जनाएको छ ।

नेपाल कर्म । २५ चैत्र २०८०, आईतवार १५:२१