एसएमएस फ्रेन्डशिप कपमा नेपालले गुजरातलाई उपाधि जित्न १७७ रनको लक्ष्य दियो

काठमाडौँ । भारतीय राज्य गुजरातको वापीमा भइरहेको एसएमएस फ्रेन्डशिप कपमा पहिले ब्याटिङ गरेको नेपालले गुजरातलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ।



साई मेघपन स्पोर्ट्स लाइफ खेल मैदानमा पाहुना कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाउँदै गुजरातलाई १७७ रनको लक्ष्य दिएको हो।

यसअघिका खेलको तुलनामा आज पिच स्लो रहेकाले बलरभन्दा पनि ब्याट्सम्यानका लागि सहज देखिएको छ। फाइनलअघिका खेलमा भने पिचले तीव्र गतिका बलरलाई मद्दत गरेको थियो।

नेपाली ओपनरले टोलीलाई राम्रो शुरुवात दिलाए। कुशल भुर्तेलले २१ बलमा १९ रन र आसिफ शेखले ३४ बलमा ३४ रन बनाएर आउट भए।

यसपछि क्रिजमा आएका पाहुना कप्तान रोहित पौडेलले ४७ बल ७४ रन बनाएर आउट भए। दिपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन हानेर आउट भए।

कुशल मल्ल १३ बलमा ३१ रन र सन्दीप जोरा ३ बल खेलेर ७ रनमा अविजित रहे।

गुजरातका लागि जयमित पटेल‚ शेन पटेल‚ तेजस पटेल र झाला युवराजसिंहले १र१ विकेट लिए।

नेपालले आज टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ। यसअघिको खेलमा विश्राम गरेका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेख आज प्लेइङ ११ मा फर्किएका छन्।

आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशीलाई आज बेन्चमा राखिएको छ।

तपाईको प्रतिक्रिया