दैलेख । ०७२ को नाकाबन्दीपछि चर्चामा रहेका पेट्रोलियम पदार्थका खानीको अन्वेषण र उत्खननको काम नतिजाउन्मुख चरणमा प्रवेश गरेको छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजले दैलेखमा ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ उत्खनन गर्न उच्च प्रविधिसहितका आवश्यक उपकरण पुर्याउने काम भइरहेको छ । चार हजारदेखि चार हजार पाँच सय मिटर गहिरो ड्रिल गरेर अन्तिम अन्वेषण गरिनेछ ।
हाल पेट्रोलियम पदार्थ उत्खनन स्थलमा ड्रिलिङ गर्ने ६ मिटर चौडाइ, १५ मिटर लम्बाइ र ६० टन वजन भएका ठूला मेसिन लैजाने क्रम जारी छ । कतिपय ठाउँमा साँघुरो सडकका कारण ठूला ट्रक लैजान कठिनाइ भइरहेको छ ।


अहिलेसम्म साना मेसिन र बन्दोबस्तीलगायत सामानसहितका ४५ ट्रक अन्वेषणस्थल जलजले पुगेका छन् । रुपैडियाबाट एक सय ५० भन्दा बढी ट्रक छुटेकामा बाँकी पुग्दै छन् ।
चाइना जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम अन्वेषण गर्ने काम भइरहेको हो । चीनको चाइना पेट्रोलियम कर्पोरेसन पेट्रोल अन्वेषण र उत्खनन गर्ने विश्वकै सबैभन्दा ठूलो संस्था मानिन्छ ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको चिनियाँ पक्ष ‘चाइना जियोलोजिकल सर्भे’ र खानी तथा भूगर्भ विभागको ‘पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना’का प्राविधिकले चैत तेस्रो साताबाट ड्रिलिङ थाल्ने योजना बनाएका थिए । तर, भन्सारमा सामान अड्किने र फराकिलो बाटोको अभावमा मेसिनरी ढुवानीमा कठिनाइ हुँदा ड्रिलिङको समयावधि धकेलिएको छ ।
यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरी काम सुरु गरिएको थियो । तर, परियोजना कार्यान्वयनमा भएको ढिलाईले लागतसमेत बढेको चिनियाँ पक्षले जानकारी दिएको छ ।
परियोजना कार्यान्वयनका लागि नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागले गठन गरेको ‘पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना’का प्रमुख दिनेशकुमार नापितका अनुसार नेपालकातर्फबाट भने जमिन अधिग्रहणका लागि आवश्यक मुआब्जा वितरणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ ।

‘सबै खर्च चिनियाँ पक्षको हो । हामीले ड्रिलिङ गर्ने स्थानको जग्गा उपलब्ध गराउनका लागि मात्रै मुआब्जाबापत खर्च गरेका छौँ,’ उनले भने, ‘जग्गाको मुआब्जाबापत सरकारले रकम खर्चेको छ, अरू कुनै आर्थिक भार छैन ।’ भैरवी गाउँपालिका– १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
परियोजनाको अवधि आगामी १६ चैतसम्मका लागि थपिएको छ । दुई वर्षअघि थपिएको १४ चैत ०८० सम्मको म्यादमा पनि काम सम्पन्न नभएपछि मन्त्रिपरिषद्ले एक वर्षको समायावधि थप गरेको हो ।
चिनियाँ पक्षसँग सम्झौता हुँँदा ड्रिलिङका लागि ११ देखि १८ महिना लाग्ने उल्लेख भएकाले एक वर्षका लागि म्याद थपिएको उनले बताए । ड्रिलिङ सुरु भएको ५–६ महिनामा काम सम्पन्न हुने परियोजना प्रमुख नापितले बताए ।
परियोजना सुरु हुँदा दैलेखमा भौगर्भिक तथा पेट्रोलियम सर्भे र ड्रिलिङ गर्ने क्षेत्रको पहिचान गर्न १० महिना लाग्ने उल्लेख थियो । तर, १० महिनामा सक्ने भनिएको काम गर्न चार वर्षभन्दा बढी लागेको छ ।
ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ उत्खनन गरिने दैलेखको जलजले । पेट्रोलियम पदार्थ उत्खनन स्थलमा ड्रिलिङ गर्ने ६ मिटर चौडाइ, १५ मिटर लम्बाइ र ६० टन वजन भएका ठूला मेसिन लैजाने क्रम जारी छ ।
अहिलेसम्म साना मेसिन र बन्दोबस्तीलगायत सामानसहितका ४५ ट्रक अन्वेषणस्थल जलजले पुगेका छन् । जलजले पुगिसकेका ट्रकबाट सामान अनलोड गर्ने काम चल्दै छ ।
कतिपय ठाउँमा साँघुरो सडकका कारण ठूला ट्रक लैजान कठिनाइ भइरहेको थियो । ट्रक पास गर्ने क्रममा सडकको भूगोल नमिलेका कारण कर्णाली राजमार्गको पादुका खोलानजिक एउटा ट्रक दुर्घटनामा परेको थियो । चाइना जियोलजिकल सर्भे र खानी तथा भूगर्भ विभागका प्राविधिकहरू उत्खननस्थलमै छन् ।

नेपाल कर्म । २५ चैत्र २०८०, आईतवार ०९:४९