सुर्खेत । कर्णाली प्रदेश सरकारमा आज दावी गर्ने भनिएपनि सत्ता साझेदार दल नेकपा माओवादीले अड्को थापेपछि रोकिएको छ । कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति नजुट्दा नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकिएको हो।

यति मात्रै हैन नेकपा (माओवादी) ले सभामुख र चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दा आज प्रदेश प्रमुख समक्ष नयाँ मुख्यमन्त्रीको दावी नै प्रभावित बनेको हो ।
बिहीबार दिउँसो माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबिच भेट भएपनि ठोस सहमति नभएको मओवादीका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

‘मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिइसक्नु भएको छ, अबको मुख्यमन्त्री यामलाल कँडेल नै हो । यसमा कुनै शंका गर्नु पर्दैन,’ परियारले भने, ‘कँडेलले भन्नुहुन्छ मुख्यमन्त्रीको दावी पेश गरौं । मन्त्रालयको हकमा त्यसपछि छलफल गरौंला भन्नुहुन्छ तर हाम्रो भनाई प्याकेजमै सबै टुंग्याएर जाउँभन्दा कुरा मात्रै नमिलेको हो । भोलीसम्मका मिल्छ ।’

मुख्यमन्त्री निवासमा बसेको माओवादीको दलको बैठकले बृहत् छलफल भई सम्पूर्ण जिम्मेवारी दल नेता शर्मालाई दिने निर्णय गरेको छ । एउटै दलको मुख्यमन्त्री र सभामुखहुँदा असहज हुने त्रासमा माओवादी छ ।
माओवादी स्रोतकाअनुसार मुख्यमन्त्री दावी अगाडी नै सभामुखले राजिनामा दिनुपर्ने र त्यसपछि सरकार गठनको प्रक्रिया थाल्नु पर्ने अडान लिएको छ ।

नेपाल कर्म । २२ चैत्र २०८०, बिहीबार १७:४५