नेपालमा लगानी बढाउन उपसभामुख रानाको आह्वान

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गरेकी छन्। बुधबार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेकी हुन्।



उनले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्नेभन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताइन्। उनले नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पुर्‍याउन सके नेपाली युवाहरुलाई धेरैभन्दा धेरै रोजगारी दिन सकिने बताइन्।

उनले होटल तथा रेष्टुरेण्टहरुमा बढीभन्दा बढी अर्गानिक खानेकुराको प्रयोग गर्न आग्रह गरिन्।

उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताइन्।

कार्यक्रममा रेष्टुरेण्ट तथा बार एशोसिएशन नेपाल (रेबान) का नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले रेबानको विधान संशोधन गरी रेबानलाई देशभर फैल्याउने योजना रहेको बताए। उनले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६÷७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया