एसईईबाट वञ्चित हुनेले तत्काल परीक्षा दिन पाउँछन् : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका कुनै पनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छिन्।



शुल्क तिर्न नसकेर पनि कतिपय विद्यार्थीहरुले परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उनले परीक्षा दिन नपाएका कुनै पनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिनसमेत आह्वान गरिन्।

बुधवार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कुनै पनि विद्यार्थीले कक्षा कोठामा ७५ प्रतिशत सहभागी नभए परीक्षा दिन नपाउने कानूनी व्यवस्था भए पनि सरकारले उनीहरुलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट पारिन्।

उनले भनिन्, ‘एसर्ईई परीक्षामा कतिपय विद्यार्थी फि तिर्न नसकेर परीक्षा दिनबाट वञ्चित भएका समाचारको कुरा आएको थियो। यो गम्भिर छ। यसमा एक्च्युअल कानून कस्तो छ भन्दा कुनै पनि विद्यार्थीले ७५ प्रतिशत पनि कक्षामा उपस्थित भएन भने उहाँहरुले जाँच दिन पाउनुहुन्न । त्यो कानून छ , कसले जाँच दिन पाएको छैन, हामीलाई सूचना आयो भने यसमा तुरुन्तै हामी काम गरिहाल्छौँ ।’

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सबै कामलाई सरकारले अनलाइन प्रणालीमा लैजानका लागि टेण्डर आह्वान गरिसकिएको र सो काम छिट्टै सम्पन्न हुने दावीसमेत गरिन्।

तपाईको प्रतिक्रिया