कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिने, राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन्।  केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन्।



नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको बताए। अहिले दिउँसो ३ बजे कर्णाली प्रदेश सभाको बैठक बस्दैछ।

‘प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राजीनामा घोषणा गर्ने कि पहिले राजीनामा दिएर सम्बोधन गर्ने, उहाँलाई विकल्प दिएका छौँ’, मल्लले भने, ‘केन्द्रमा जुटेको सहमतिअनुसार अब पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व लिनेछ। त्यसपछिको बाँकी समय माओवादीले नेतृत्व गर्ने छ।’

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडान लिँदा मंगलबार दिनभर सहमति जुटेको थिएन। जसकारण उनले विश्वासको मत लिन भनेर डाकिएको प्रदेश सभा बैठक पनि बस्दै नबसी स्थगित गरेर बुधबार दिउँसोलाई तोकिएको थियो।

यसअघि सोमबार प्रचण्डले कर्णालीको मुख्यमन्त्री पद छाड्न पार्टीको प्रदेश कमिटीलाई निर्देशन दिएका थिए।

अध्यक्ष प्रचण्डले सोमबार दिउँसो पार्टीका कर्णाली प्रदेश इन्चार्ज मल्ललाई टेलिफोन गरेर मुख्यमन्त्री पद एमालेलाई दिन भनेका थिए।

तर, त्यसअघि नै आइतबार मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने गरी प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

तपाईको प्रतिक्रिया