सुर्खेत । माओवादी संसदीय दलको बैठकले विश्वासका मत लिएपछि मात्रै कर्णाली सरकारको नेतृत्व छाड्ने निर्णय गरे लगत्तै एमाले इन्चार्ज लेखराज भट्ट र एमाले संसदीय दलका नेता यामलाल कँडेल पुनः छलफलका लागि मुख्यमन्त्री निवास पुगेका छन् । दिनभर भएको छलफलमा एमालेलाई नेतृत्व दिन सहमत नभएका मुख्यमन्त्री राजकुमार शर्माले आज लिने भनिएको विश्वासको मत बुधबारलाई सारिएको छ ।

तर पुनः छलफलबाट निष्कर्षमा पुग्न भट्ट र कँडेल ईत्रामस्थित मुख्यमन्त्री शर्मा निवास पुगेका छन् । मुख्यमन्त्री शर्मासहित माओवादी नेता महेन्द्रबहादुर शाही, प्रदेश ईन्चार्ज कालिबहादुर मल्ल र प्रदेश अध्यक्ष विमला केसी निवासमै छन् ।

माओवादी संसदीय दलले जे निर्णय गरेपनि केन्द्रीय निर्देशनअनुसार नै अघि बढ्ने मुख्यमन्त्रीले मार्ग प्रस्तत गर्नेमा एमाले नेता ढुक्क देखिन्छ । यसको कारण मुख्यमन्त्री शर्माले आज लिने भनिएको विश्वासको मतका लागि संसद बैठक सार्नुलाई छलफलकै माध्यमबाट आज रातीसम्म टुंगोमा पुग्नेमा एमाले नेताहरु विश्वस्त छन् ।

‘संसद सचिवायलमा मुख्यमन्त्री शर्माले यसअघि नै विश्वासकाे मत लिने पत्र पठाइसकेकाले सम्मानजनक रुपमा विश्वासको मत लिएर सरकार छाड्न चाहानु भएको हो,’ एमाले स्रोतले भन्यो, ‘बरु सरकारमा कसरी जाने र उहाँले भनेका व्यक्तिहरुलाई मन्त्री बनाउन एकल निर्णयमा हस्तक्षेप हुनुहुँदैन भन्ने बटमलाइन रहेकाले रातीसम्ममा निर्णय हुन्छ ।’
माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर मंगलबार विहानैदेखि शाही छलफल गरिरहेकाले आज रातीसम्म टुंगो लाग्ने स्रोतले जनाएको छ । माओवादी संसदीय दलको बैठकले बुधबार जसरी हुन्छ विश्वासको मत लिने र त्यसपछि नेतृत्व हस्तान्तरण गरिने निर्णय गरेको छ ।

नेपाल कर्म । २० चैत्र २०८०, मंगलवार १९:०४