सुर्खेत । कर्णालीको कुल जनसंख्याको ७३ दशमलव ७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीको कुल जनसंख्याको सबैभन्दा धेरै कृषि, वन तथा माछापालन क्षेत्रमा संलग्न रहेका छन्। १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपालस्तरीय औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरी यो तथ्यांक निकालिएको हो।
सोही अनुसार कर्णालीमा आर्थिक काममा संलग्न नौ लाख २६ हजार तीन सय ४० मध्ये सबैभन्दा बढी मानिसले कृषि, वन तथा माछापालन क्षेत्रमा काम गर्ने गरेका छन्। यसपछि थोक एवम् खुद्रा २ दशमलव ६, निर्माणमा ५ दशमलव २, शिक्षामा २ दशमलव ६ र सार्वजनिक प्रसाशन तथा सुरक्षाको क्षेत्रमा २ दशमलव ३ प्रतिशत जनसंख्या संलग्न रहेको तथ्यांकमा उल्लेख छ।
जनगणना अनुसार कर्णालीमा १० वर्ष वा बढी उमेरका १३ लाख ३७ हजार आठ सय ९३ मध्ये नौ लाख २६ हजार तीन सय ४० जनाले जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन्। जसमध्ये ४२ दशमलव ५ प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २६ दशमलव ७ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३० दशमलव ८ प्रतिशतले कुनै पनि आर्थिक काम नगरेको तथ्यांकमा उल्लेख छ।

यस्तै, कुल जनसंख्याको नौ लाख ५८ हजार ६ सय ४३ अर्थात ७१ दशमलव ७ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय रहँदा तीन लाख ७३ हजार १७ जना अर्थात २७ दशमलव ९ प्रतिशत जनसंख्या निष्कृय रहेको छ। जबकी आर्थिक रुपले सक्रिय वा निष्कृय अवस्था नखुलेको व्यक्तिहरुको संख्या ६ हजार दुई सय ३३ रहेको जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ।

यस्तै, कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका ६ लाख ६८ हजार सात सय १५ जना अक्सर आर्थिक रुपले सक्रिय व्यक्तिहरु मध्ये ६ लाख १८ हजार चार सय ८७ जना अर्थात ९२ दशमलव ५ प्रतिशत अक्सर रोजगार र ५० हजार दुई सय २८ अर्थात ७ दशमलव ५ प्रतिशत जनसंख्या बेरोजगार रहेका छन्।
जनगणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरुको आर्थिक कामको संस्थागत क्षेत्र अनुसार सबैभन्दा धेरै घरायसी क्षेत्रमा काम गर्ने ७६ दशमलव ९ प्रतिशत, गैर वित्तीय संस्थामा काम गर्ने १७ दशमलव ६ प्रतिशत, सरकारी क्षेत्रमा काम गर्ने ४ दशमलव ७ प्रतिशत, वित्तीय संस्थामा काम गर्ने शून्य दशमलव ५ प्रतिशत जनसंख्या रहेको उल्लेख छ।
यस्तै, नाफा नकमाउने संस्थामा काम गर्ने शून्य दशमलव ३, उल्लेख नभएको क्षेत्रमा काम गर्ने जनसंख्या शून्य दशमलव १ प्रतिशत रहेको जनगणनाको तथ्यांकमा उल्लेख छ।

नेपाल कर्म । १८ जेष्ठ २०८०, बिहीबार १५:५३