मंगलगढी–लाटीकाेइली सडक

दुई वर्षसम्म सास्ती, जमानत फिर्तापछि ठेकेदार मैदानमा

सुर्खेत । दोस्रो लुम्बिनीको उपमा पाएको ऐतिहासिक काँक्रेविहार जाने ‘मंगलगढी–लाटीकाईली’ सडक मुख्य मार्ग हो । काँक्रेविहारको पुनर्निर्माणसँगै यहीँ मार्ग भएर काँक्रेविहार हेर्न र शिव मन्दीर दर्शन गर्न जानेहरुको संख्या उत्तिकै बढिरहेको छ ।



यतिमात्रै हैन, यहीँ सडक भएर लाटीकोईली, अलायाचौर, चाँदनी चोक, खोलीगाउँ, गुप्तीपुर, पातलगंगा, दौलतपुर लगायतका दर्जन बढी गाउँका नागरिकहरुको ओहोरदोहोर गर्छन् ।

करिव दुई वर्ष अघि नै यो मार्गलाई कालोपत्रे गर्न ठेक्का आह्वान गरिएपनि समयमै सम्पन्न नहुँदा नागरिकहरु सास्ती खेप्न बाध्य छन् । अन्तत बैंक जमानत फिर्ता गरेपछि ठेकेदारले मंगलगढी–लाटीकोइली सडक छिट्टै पिच (कालोपत्रे) गर्ने तयारी गरेका छन् । बैंक जमानत फिर्ता ल्याएपछि कम्पनी कालो सूचीका लागि प्रक्रिया अघि बढ्ने त्रासले ठेकेदारले आगामी जेठ १५ भित्रै सडक कालोपत्रे गर्ने तयारी गरेका हुन् ।

निर्माण कम्पनी अमर–सिस्ने नेपाल–मेघा जेभी प्रा.लिले सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने मंगलगडी–लाटीकोइली सडक निर्माण कार्य अलपत्र पारेको थियो ।

पूर्वाधार विकास निर्देशनालयका अनुसार ठेक्का सम्झौतापछि कम्पनीले कुल रकमको १० प्रतिशत रकम पेश्की स्वरुप अग्रिम भूक्तानी लिएको थियो । कम्पनीले बैंकमा जमानत राखेको ८७ लाख रकम निर्देशनालयको खातामा तानिएको छ ।

२०८० फागुन १५ गतेसम्म काम सम्पन्न गर्नेगरी कम्पनीले १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । तर सम्झौताअनुसार कम्पनीले काम नगरेपछि निर्देशनालयले अब आगामी जेठ महिनाभित्रै काम सक्न ताकेता गरेको छ । सोही अनुसार निर्माण कम्पनीले पनि सडक कालोपत्रे गर्न आवश्यक सामाग्री व्यवस्थापन गरिहेको छ ।

दुई वर्षदेखि निर्माण अलपत्र सडक खण्डमा काँक्रेविहार हेर्न र शिवमन्दीर दर्शन गर्न जाने पर्यटकदेखि यहीँ सडक भएर लाटीकोईली, अलायाचौर, चाँदनी चोक, खोलीगाउँ, गुप्तीपुर, पातलगंगा, दौलतपुर लगायतका दर्जन बढी गाउँका नागरिकहरुको ओहोरदोहोर गर्छन् ।

तर समयमै सडक कालोपत्रे नभएपछि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्नु परेको स्थानीय सकुन्तला शाक्यले बताइन् । ‘सडकमा खाल्टाखुल्टी र धुलो, धुवाँले हिँड्नै सकिने अवस्था छैन’ उनले भनिन्, ‘लामो समयदेखि जीर्ण अवस्थामा रहेको यो सडक अब छिटै कालोपत्रे होस् ।’

कुल दुई हजार तीनसय मिटर लम्बाइ रहेको लाटिकोइली फोरलेन सडक कालोपत्रेका लागि आगामी जेठ १५ सम्मको अन्तिम म्याद गर्न लागेको निर्देशक रामशरण आचार्यले बताए ।

‘सडकको नाला निर्माण, फिलिङ गर्ने लगायतका सबै काम सकिएको छ । अब यो सडकको अन्तिम काम कालोपत्रे नै हो’ उनले भने, ‘अब निर्माण अलपत्र सबै सडक छिटै कालोपत्रे बनाउने तयारीका साथ हामीले निर्माण कम्पनीलाइ अन्तिम ताकेता गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया