काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन्। सोमबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा सांसदहरुले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन्।

उनीहरुले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिए। उनीहरुले सांसदहरुका आफ्नाआफ्ना चाहनाअनुसार बजेट माग गरेपनि प्राथमिकताका आधारमा मात्रै बजेट छुट्याउन आवश्यक रहेको बताए। परम्परावादी बजेटलाई ब्रेक गरेर अघि बढेमात्रै शिक्षा क्षेत्रमा परिवर्तन गर्न सम्भव रहेको बताए।

समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले नयाँ आवमा शिक्षामा धेरै छुट्याउन आवश्यक रहेको बताए। उनले पुरानो र परम्परावादी बजेटबाट शिक्षा क्षेत्रमा सुधार गर्न सम्भव नहुने जिकिर गरे। उनले निजी, सरकारी विद्यालयहरुको पाठ्यक्रम एउटै बनाउन आवश्यक रहेको बताए।
त्यस्तै, समितिको बैठकमा नेकपा एमालेका सांसद इन्दिरा गौतमले शिक्षा विकासका मेरुदण्ड रहेकाले पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको बताइन्। उनले बालविकास केन्द्रलाई अझै व्यवस्थित बनाई शिक्षालाई अगाडि बढाउन आवश्यक रहेको बताइन्।

बैठकमा बोल्दै नेकपा ९एकीकृत समाजवादी० की सांसद राजेन्द्रलक्ष्मी गैरेले बाल विकासका शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गरिन्। उनले बालबालिकाहरुको स्याहार गरेर बस्ने शिक्षक शिक्षिकाहरुको पारिश्रमीक पनि बढाउन आवश्यक रहेको उल्लेख गरिन्।
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले शिक्षा कुनै पनि देशको आर्थिक, सामाजिक विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेकाले शिक्षामा आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा राखे। उनले बजेट राखेर मात्रै नहुने भन्दै उनले कार्यान्वयनमा पनि जोड दिन सुझाव दिए।
उनले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा नभएकै कारण निजी विद्यालयहरुमा विद्यार्थीहरुको भिड लाग्ने गरेको भन्दै सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताए।

नेपाल कर्म । १९ चैत्र २०८०, सोमबार १६:३६