बैंक जमानत तानेपछि सडक बनाउन सुर्खेत फर्किए कान्छाराम

सुर्खेत । वीरेन्द्रनगर भित्रका १५ ओटा सडक निर्माणको जिम्मा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले २०७८ मा पाए । शुरुमा काम त रफ्तारमै गर्छन की भन्ने चर्चा पनि भयो । उनले डिभिजन वन कार्यालय अगाडी, खारखोली टेलिकम सडक लगायतका ठाउँमा शुरुमा सन्तोषजनक काम गरे ।



तर विस्तारै कान्छाराम कन्ट्रक्शनले जिम्मा पाएका १५ ओटा सडक अलपत्र पार्दै सम्पर्कविहिन बने । कान्छारामले निर्माण जिम्मा पाएका सडकहरुको विभिन्न प्याकेजमा १११ मिटरदेखि ७३० मिटरका छन् । यी सडकको जम्मा लम्बाई पाँच हजार १४ मिटर अर्थात् ५.१४ किलोमिटर हो ।

कान्छारामले निर्माण जिम्मा पाएका सबै सडक २०७९ फागुन २० गते कालोपत्रे सम्पन्न गरिसक्नु पर्ने हुन् । सम्झौताको अन्तिम म्याद सकिएको एक वर्ष पूरा भइसक्दा पनि कान्छारामको गति कछुवासरी नै छ ।

कुल १२ करोड ९४ लाख रुपैँयाको ठेक्का पूर्वाधार विकास निर्देशनलाय सुर्खेतसँग सम्झौता गरेका कान्छारामले निर्माण गरिएका सडकहरुको १ करोड ९२ लाख भ्याटसहितको रकम भुक्तानी लगिसकेका छन् ।

उनले काम सम्पन्न गरेको १२ लाख रुपैयाँ निर्देशनालयले दिन बाँकी नै थियो । तर काम नै नगरेर उनी सम्पर्कविहिन बनेका थिए । पटक–पटक पत्रचार गर्दा कान्छाराम सम्पर्कमा नआएपछि निर्देशनलायले उपाय लगायो बैंक जमानतमा रहेको १ करोड १५ हजार खातामा तान्ने र कालो सूचीका लागि प्रक्रिया अगाडी बढाउने ।

निर्देशनलायले अन्तत सडक अलपत्र छाडेपछि चौतर्फी आलोचना र दवाव बढेपछि अन्तिम प्रक्रियाका लागि सूचना जारी ग¥यो । त्यति मात्रै हैन कान्छारामले सडक अलपत्र पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजूरी नै परेको थियो ।

कार्यालयले सडक निर्माण अलपत्र नै छाडिरहेको अवस्थामा कार्यालयले थप कारवाही अगाडी बढाएन् । ‘सडक निर्माण सम्पन्न गरेको भए गुणस्तरहिन काम भयो वा भएन भन्ने छानविन गर्न मिल्थ्यो । काम गराउने दायित्व निर्देशनालयकै भएकाले अख्तियारले थप कारवाही अगाडी बढाएन,’ निर्देशनालय स्रोतले भन्यो, ‘चौतर्फी आलोचना र दवाव बढेपछि हामीले ठेक्का तोड्ने र कालोसूचीमा राख्नेगरी प्रक्रिया अगाडी बढाएपछि कान्छारामले निर्माण कर्मचारी पठाएर काम थालेका छन् ।’

अख्तियारमा उजूरी र निर्देशनालयले ठेक्का तोडेर कालो सूची राख्ने प्रक्रिया थालेपछि निद्रा हरण भएका कान्छारामले अहिले काम शुरु गरेका छन् । केही दिनयता सडक निर्माणको काम थालेको पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्यले नेपालकर्मलाई जानकारी दिए ।

‘१२ ओटा सडकमध्य नाला सम्पन्न भएका सडकको कालोपत्रेका लागि बेश विछ्याउने र नाला नै शुरु नगरिएका सडकको नाला निर्माणको काम गरिरहेका छन्,’ आचार्यले भने, ‘आगामी वर्ष २०८१ को पुस मसान्तसम्मका लागि कान्छारामले म्याद थप मागेको पत्र पठाएपनि जेठभित्र काम सक्न निर्देशन दिएका छौं ।’

कान्छारामले जिम्मा लिएका सडकहरुमा डिभिजन वन कार्यालय अगाडीको सडक, खारखोली टेलिकम सडक, खारखोली हटलाइन सडक, इत्राम चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडीको सडक, जिल्ला अदालत–मुख्यमन्त्री–अख्तियार कार्यालय अगाडीको सडक, पूर्वाधार विकास निर्देशनालय अगाडीको सडक, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अगाडीको सडक र बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालय सडक छन् ।

यस्तै, डीआईजी चौक–खारखोली सडक, कालिन्चोक–मिलनचोक सडक, खजुराको भित्रि मोडेल कलेज उत्तर–पश्चिम सडक, गण्डकी लाइन सडक, महिला छात्रावास–दैलेख रोड, लालुपाते उत्तरी र रत्न राजमार्ग शीतलनगर सडक रहेको निर्देशनालयले जनाएको छ । यी सडकहरुको नाला निर्माण गरेर, सब बेस र बेस राखेर कालोपत्रे गरिने सडक हुन् ।

तपाईको प्रतिक्रिया