कर्णालीको जनसंख्या १६ लाख ८८ हजार, वृद्धिदर ०.७० प्रतिशत

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ। जसमा पुरुष आठ लाख २३ हजार सात सय ६१ (४८ दशमलव ७९ प्रतिशत) र महिला आठ लाख ६४ हजार ६ सय ५१ (५१ दशमलव २१ प्रतिशत) रहेको छ।



जनगणनामा अनुसार नेपालको कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या दुई हजार नौ सय आठ देखिएको छ, जुन कुल जनसंख्याको शून्य दशमलव ०१ प्रतिशत हुन्छ। कुल अन्य लिङ्गी मध्ये कर्णाली प्रदेशमा २ दशमलव ८ प्रतिशत रहेको छ।

यस्तै, कर्णालीमा वार्षिक औसत जनसंख्या बृद्धिदर शून्य दशमलव ७० प्रतिशत रहेको छ। १० वर्षको अन्तरालमा कर्णालीमा एक लाख १७ हजार नौ सय ९४ जना अर्थात् सात दशमलव ५१ प्रतिशत जनसंख्या वृद्धि भएको छ।

सबैभन्दा कम जनसंख्या भएको जिल्ला हुम्ला रहेको छ। हुम्लामा ५५ हजार तीन सय ९४ रहेको छ। हुम्लामा जनसंख्या वृद्धिदर ० दशमलव ८२ प्रतिशत छ।

यस्तै, सबैभन्दा बढी जनसंख्या सुर्खेतमा छ। सुर्खेतमा वार्षिक १ दशमलव ६२ प्रतिशत जनसंख्या वृद्धि भइरहेको छ। मुगु १ दशमलव ४९, डोल्पा १ दशमलव ४७, हुम्ला ० दशमलव ८२, जुम्ला ० दशमलव ८०, रुकुमपश्चिम ० दशमलव ६८, कालीकोट ० दशमलव ५७ प्रतिशतले जनसंख्या वृद्धि भइरहेको छ।

जसअनुसार सुर्खेतमा ४ लाख १५ हजार एक सय २६ जना, मुगुमा ६४ हजार ५ सय ४९ जना, डोल्पामा ४२ हजार ७ सय ७४ जना, जाजरकोटमा एक लाख ८९ हजार तीन सय ६० जना, हुम्लामा ५५ हजार तीन सय ९४ जना, जुम्लामा एक लाख १८ हजार तीन सय ४९ जना, रुकुम पश्चिममा एक लाख ६६ हजार सात सय ४० जना र कालीकोटमा एक लाख ४५ हजार दुई सय ९२ जनसंख्या पुगेको जनगणनाको तथ्यांक छ।

कर्णालीमा जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) ६० जना रहेको छ। जुन २०६८ मा ५६ थियो। सबैभन्दा धेरै जनघनत्व रहेको जिल्ला सुर्खेतमा एक सय ६९ जना प्रति वर्ग किलोमिटर हुँदा सबैभन्दा कम ५ जना प्रति वर्ग किलोमिटर डोल्पा जिल्लामा रहेको छ।

यस्तै, कर्णालीमा कुल जनसंख्याको ५८ दशमलव ९ प्रतिशत जनसंख्या १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका रहेका छन्। हाल १४ वर्ष वा सो भन्दा कम उमेरका र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरको जनसंख्या क्रमशः ३३ दशमलव १ र ८ दशमलव शून्य प्रतिशत रहेको छ।

जनगणना २०६८ को तथ्यांक अनुसार कर्णालीमा परिवार संख्या दुई लाख ९८ हजार तीन सय ५९ रहेकोमा हाल उक्त संख्या २२ दशमलव ८ प्रतिशतले बढेर तीन लाख ६६ हजार दुई सय ५५ पुगेको छ। जसमध्ये व्यक्तिगत परिवार तीन लाख ६६ हजार ३७ र संस्थागत परिवार दुई सय १८ रहेका छन्। कर्णालीका नगरपालिकाको जनसंख्या ५२ दशमलव १ र गाउँपालिकाको ४७ दशमलव ९ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया