काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक सुशील थिङले बाल सुधारगृहमा पठनपाठनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।

युसेपले सञ्चालनमा ल्याएका बाल सुधारगृहमा पठनपाठनको व्यवस्था भएको उल्लेख गर्दै उनले सरकारले सञ्चालनमा ल्याएका बाल सुधारगृहमा पनि पठनपाठनको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी हुन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाल सुधारगृह बाल सुधार हुने खालको नभएको औंल्याउँदै त्यसको भौतिक संरचनामै सुधार गर्न पनि सरकारलाई सचेत गराइन्।

सचेतक थिङले क्षमताभन्दा बढी बालबालिकाहरू सुधारगृहमा राख्ने काममा सरकार आफैँ संलग्न भएको आरोप लगाइन्।

उनले भनिन्, ‘५० जना क्षमता भएको ठाउँमा २२२ जना बालक छन्। त्यसमा ११८ जना १८ वर्षमाथिका बालक रहेका छन्। ती बालकलाई तत्काल अलग नराखेमा त्यहाँ धेरै घटना घट्न सक्ने बुझ्न जरुरी छ। बालकहरू सानो कोठामा खाटमुनि पनि सुतिरहेको अवस्था छ। यस्तोमा बाल सुधारगृह भन्न मिल्छ रु सरकारले तत्काल बाल सुधारगृहको भौतिक संरचना नबदल्ने हो भने यो सुधारगृह हुनेवाला छैन। नेपालमा जम्मा ८ वटा बाल सुधारगृह छन्। त्यसमा नेपाल सरकारबाट सञ्चालित ४ वटा र युसेपबाट सञ्चालित ४ वटा रहेकोमा त्यहाँ विद्यालयसहितको सुविधा छ भने नेपाल सरकारबाट सञ्चालित सुधारगृहमा त्यो छैन।’
सचेतक थिङले विद्यमान बाल सुधार गृहको संरचना नबदल्ने हो भने त्यसलाई सुधारगृह भन्न मिल्ने अवस्था नरहेको जिकिर पनि गरिन्।

नेपाल कर्म । १८ चैत्र २०८०, आईतवार १६:३४