काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएका छन्। शुक्रबार ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए।

जलस्रोतको व्यवस्थापनलाई एकीकृत दृष्टिकोणका साथ हेर्नुपर्ने विषयमा यस अध्ययनले विशेष जोड दिएकोमा मन्त्री बस्नेतले प्रसन्नता व्यक्त गरे। उनले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताए।


नदी बेसिनको बहुपक्षीय प्रयोगलाई विशेष ध्यान दिँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको र कानुनी एवं संरचनागत विषयलाई ध्यान दिँदै बजेटको विनियोजनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
जलवायु उत्थानशील जलस्रोत व्यवस्थापनका लागि विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापनमा परेका बाधा अड्चन लगायतका विषय अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिएको छ।

नेपाल कर्म । १६ चैत्र २०८०, शुक्रबार १२:३०