सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ । नयाँ नेतृत्वका लागि नवौँ अधिवेशन बिहीबारदेखि शुरु गरिएको हो । तर सहमतिको प्रयास सम्भव नभएपछि निर्वाचन कार्यतालिकाअनुसार नयाँ नेतृत्व छान्न उम्मेद्वारी दर्ता गरिएको हो ।

अधिवेशनको उद्घाटन गर्न सुर्खेत आएका एमाले महासचिव शंकर पोखरेलले नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मत गर्न निर्देशन दिएर फर्किएका थिए । प्रदेश राजधानीको जिल्ला सुर्खेत भएकाले नेताहरुले प्रतिष्ठाको विषय बनाएर अन्तत चुनावी मैदानमा होमिएका छन् ।

स्थायी कमिटी सदस्यद्वय यमलाल कँडेल र गोरख बोगटीले नयाँ नेतृत्व छान्न सहमति गर्न नसक्दा दुवै नेताको नाममा प्यानल खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ । वोगटी सुर्खेत जिल्ला ईन्चार्जसमेत छन् ।
सहमतिबाट नेतृत्व छनाेटका लागि वाेगटी टिमले सचिवसहित ४० प्रतिशत सदस्य मागेपछि सहमति हुन नसकेकाे एक एमाले नेताले नेपालकर्मलाइ जानकारी दिए ।
‘उनीहरूकाे टिमभन्दा बढी नेताहरू यतै भएकाले व्यवस्थापन गर्न समस्या भएपछि सहमतिमा खास कुरा मिल्न सकेन तर उप-सचिवसहित २० प्रतिशत सदस्य लिनुहाेसभन्दा नमानेपछि अहिले मनाेनयन दर्ता गरिएकाे छ,’ ति नेताले भने, ‘उनीहरूले खाेजे जसरी दिन सकिने अवस्था भएन अब निर्वाचनबाटै नेतृत्व छनाेट हुन्छ ।’
तर वाेगटी टिमका नेताहरूले भने अमृत विसीसहितकाे टिमलाइ सम्मानजनक रूपमा व्यवस्थापन नगरिदिँदा चुनावमा हाेमिन परेकाे बताउँछन् । ‘स्वभावै उनीहरूकाे दवदवा छ तर हामी नेता कार्यकर्ताहरूकाे पनि उचिन सम्मान हुनु पर्याे भनेर सचिवसहित केही सदस्य मागेका थियाैं तर त्याे नभएपछि अन्तत चुनावै हाेमियाैं अव चुनावकाे परिमाण स्वीकार्छाैं,’ उनले भने ।
कँडेलको पक्षबाट अध्यक्षका लागि हाल उपाध्यक्ष रहेका कुलमणि देवकोटा र वोगटी टिमबाट वर्तमान अध्यक्ष अमृत बीसी छन् । यस्तै, उपाध्यक्षमा देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा अझै टुंगा लाग्न सकेको छैन । उप–सचिव महिलाबाट सुशील विश्वकर्माले उम्मेद्वारी दर्ता गराएकी छन् ।
उपध्याक्ष पदका उम्मेदवार बडुवाल यसअघि पार्टी विभाजनहुँदा समाजवादीतर्फ लागेर सुर्खेत जिल्ला अध्यक्ष थिए । समाजवादीबाट एमालेमा समायोज भएका बडुवाल एमाले सुर्खेत पश्चिमका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । यसो त पार्टी विभाजन नहुनु अघि बडुवाल एमाले सुर्खेतको सचिव थिए ।

एक कार्यकाल अध्यक्ष भइसकेकाले विसी आठौँ अधिवेशनमा यामलाल कँडेलकै पक्षबाट उम्मेदवार बनेर जितेका थिए । विसी पुनः दोहोरिँदा उनको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्माले उम्मेद्वारी दर्ता गराएका छन् । उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र तृप्ती विश्वकर्माले उम्मेद्वारी दर्ता गरएका हुन् ।
जिल्लाका ८० प्रतिशत पदाधिकारी तथा सदस्यहरू कँडेल टिमका छन् । अहिले चुनाव नै भए पनि कँडेल पक्षको उम्मेदवारले सहजै जित्ने सक्ने आँकलन गरिएको छ ।
निर्वाचनका लागि गठित जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आज (चैत १०) गते उम्मेदवारको दरखास्त फारम दर्ता बिहान साढे ८ बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाश दिउँसो १ बजे, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानवीज र निणर्य दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म रहेको छ ।
यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुका ८ बजे, मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनका लागि जिल्लाभरबाट ४९५ प्रतिनिधि सहभागी छन् ।
इन्चार्ज बोगटीको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल
यस्तै, नवौँ अधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षमा अध्यक्ष मण्डल गठन भएको छ।
उद्घाटन सत्र समापन भए लगतै सोही दिन नेता बोगटीको अध्यक्षतामा अध्यक्ष मण्डलमा एमाले केन्द्रीय सदस्यद्धय मोहनमाया ढकाल, ठम्मरबहादुर बिष्ट, प्रदेश कमिटी सचीव ध्रुव शाही र प्रदेश कमिटी उपसचिव पद्मा खड्का सदस्य रहेका छन्।
अध्यक्ष मण्डलको अगुवाइमा चैत ८ गते बेलुकादेखिनै बन्दसत्र सन्चालन भएर जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसीबाट प्रस्तुत राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन उपर चैत्र ९ गते व्यापक छलफलभै सर्वसम्मत पारित भएको छ।

नेपाल कर्म । १० चैत्र २०८०, शनिबार ११:२८