एमाले सुर्खेत अध्यक्षका लागि देवकोटाले गराए उम्मेदवारी दर्ता

सुर्खेत । नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्षका लागि कुलमणी देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । बिहिबारदेखि जारी एमाले सुर्खेतको नवौं अधिवेशनमा सहमति जुट्न नसकेपछि वर्तमान उपाध्यक्ष रहेका देवकोटाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।



आठौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका अमृत विसी र उपाध्यक्ष देवकोटा बिच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुन लागेको हो । नयाँ चयन हुने कार्यसमितका लागि अध्यक्ष देवकोटाको टिमबाट उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी, उप-सचिव (महिला) सुशीला विकको उम्मेदवारी टुङ्गो लाग्दा खुला उप-सचिवको टुङ्गो लाग्न बाँकी छ । यस्तै, विसी टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिव डण्डिप्रसाद शर्मा, उपसचिव खुला हरिप्रसाद अधिकारी र महिला उपसचिवमा तृप्ति विक उम्मेदवार रहेका छन् ।

निर्वाचनका लागि गठित जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आज (चैत १०) गते उम्मेदवारको दरखास्त फारम दर्ता बिहान साढे ८ बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाश दिउँसो १ बजे, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानवीज र निणर्य दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म रहेको छ ।

यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुका ८ बजे, मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया