सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ अधिवेशन चैत ८ गते बिहीबारदेखि जारी रहेको छ। एमाले महासचिव शंकर पोखरलेबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र सुर्खेतको सिटीहलमा जारी रहेको छ। बन्दसत्रमा पार्टीको राजनीतिक, सांगठीत तथा आर्थिक प्रतिवेदन प्रस्तुतसँगै पारित गरिएको छ।
आठौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व पनि निर्वाचन भएर बनेको थियो। नवौँ अधिवेशनको पनि सोही क्रम दोहोरीने भएको छ। सर्वसम्मतिका लागि उम्मेदवार नेताहरूबीच सहमति नजुट्दा अधिवेशन निर्वाचनतर्फ उन्मुख देखिएको छ।
जसका लागि दुई टिम तयार भइसकेका छन। अध्यक्षका लागि हालका अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कलमणी देवकोटाबीच प्रस्तिपर्धा हुने भएको छ। आठौँ अधिवेशनमा एकै टिमबाट निर्वाचन भएका यी दुई नेता बिसी र देवकोटा नवौँ अधिवेशनमा भने फरक–फरक समूहबाट अध्यक्षका लागि प्रस्तिपर्धा गर्ने भएका छन्। तर, पनि नेताहरू सर्वसम्मतिको प्रयास चाँही जारी राखेका छन्।

बिसी र देवकोटाले आ–आफ्नो टिमनै तयार पारिसकेका छन्। बिसीबाट उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डीप्रसाद शर्मा, उप–सविच खुलामा हरिप्रसाद अधिकारी र उप–सचिव महिलामा तृप्ती विक उम्मेदवार बनेका छन्।
यस्तै, देवकोटा अध्यक्ष रहेको समूहमा उपाध्यक्षमा मोहन बडुवाल, सविचमा हालका सचिव कविन्द्रकुमार केसी, उप–सचिवमा महिलामा सुशीला विक उम्मेदवार बनेका छन्। तर, यो समचार लेख्दासम्म देवकोटाको टिमले उपसचिव खुलाको उम्मेदवार तयार पारिसकेको छैन्।

इन्चार्ज बोगटीको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल
यस्तै, नवौँ अधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षमा अध्यक्ष मण्डल गठन भएको छ।
उद्घाटन सत्र समापन भए लगतै सोही दिन नेता बोगटीको अध्यक्षतामा अध्यक्ष मण्डलमा एमाले केन्द्रीय सदस्यद्धय मोहनमाया ढकाल, ठम्मरबहादुर बिष्ट, प्रदेश कमिटी सचीव ध्रुव शाही र प्रदेश कमिटी उपसचिव पद्मा खड्का सदस्य रहेका छन्।
अध्यक्ष मण्डलको अगुवाइमा चैत ८ गते बेलुकादेखिनै बन्दसत्र सन्चालन भएर जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसीबाट प्रस्तुत राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन उपर चैत्र ९ गते व्यापक छलफलभै सर्वसम्मत पारित भएको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक
यस्तै, निर्वाचनका लागि गठित जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। निर्वाचन कार्यक्रम अन्तर्गत आज (चैत १०) गते उम्मेदवारको दरखास्त फारम दर्ता बिहान साढे ८ बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाश दिउँसो १ बजे, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानवीज र निर्णय दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म रहेको छ।
यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुका ८ बजे, मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ।
यसरी चुनिनेछन्, ५ पादाधिकारी सहित ९९ जना जिल्ला कमिटी
आठौँ अधिवेशनबाट १२७ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको यस अधिवेशनबाट सदस्य संख्या घट्ने भएका छन्। नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि पाँच जना पदाधिकारीसहित ९९ जना जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन कमिटीले जनाएको छ।
पाँच जना पदाधिकारीमा एक जना अध्यक्ष, एक उपाध्यइा, एक जना सचिव र एक जना महिलासहित दुई जना उपसचिव निर्वाचित हुनेछन्। उक्त निर्वाचन क्लस्टर अनुसार अन्य सदस्यहरूमा भूलोगबाट जसमा (४० वर्षमूनी) समावेश, समावेशी क्लस्टर गरी दुई भागमा विभाजन गरिएको छ।
यस्तै, भूगोल अनुसार ९ वटा पालिका रहेको सुर्खेत जिल्लभर ५९ जना सदस्य निर्वाचित हुनेछन्। जसमा ४१ खुला र १८ जना महिला कोठा रहेको छ।
यस्तै, भूगोल अनुसार सिम्ता गाउँपालिकाबाट जम्मा ५ जना (३ खुला, २ महिला), चिङ्गाड गाउँपालिकाबाट जम्मा ३ जना (दुई खुला, एक महिला), चौकुने गाउँपालिकाबाट जम्मा ५ जना (खुला ३, महिला २) बराहताल गाउँपालिकाबाट ४ जना (३ खुला, १ महिला) गूर्भाकोट नगरपालिबाट जम्मा ७ जना (५ खुला, २ महिला), लेकवेशी नगरपालिकाबाट ७ जनामा (५ खुला, २ महिला) सदस्यमा निर्वाचित हुनेछन्।
वीरेन्द्रनगर नगरपालिबाट जम्म १४ जनामा (१० जना खुला, ४ महिला) पञ्चपुरी नगरपालिबाट जम्मा ७ जनामा (५ खुला, २ महिला) र भेरीगंगा नगरपालिकाबाट जम्मा ७ जनामा (५ खुला र २ महिला) निर्वाचित हुनेछन्।
यस्तै, समावेशी क्लस्टरमा दलितमा १०, जनजातीबाट ७, मजदुरबाट १, खुलाबाट १६ र फरक क्षमता (अपाङ्गता)बाट १ जना गरि जम्मा ३५ सदस्य निर्वाचित हुनेछन्।

नेपाल कर्म । १० चैत्र २०८०, शनिबार १०:१२