सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होलीमा अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरे कारवाही गर्न निर्देशन दिएको छ । कार्यालयले होलीको पूर्व सन्ध्यामा विज्ञप्ती जारी गर्दै ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको होली पर्वमा सामाजिक सद्भाव र भाइचारा कायम गरेर नमनाउनेलाई कारवाही गर्न निर्देशन दिएको हो ।

‘होली पर्व मनाउने नाउँमा अनावश्यक तड़क–भडकसहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ्ग दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ ।’


आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन हुन प्रशासनले भनेको छ । ‘कोही कसैले यस्ता अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ,’ प्रशासनले जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाल कर्म । ९ चैत्र २०८०, शुक्रबार १४:४९