सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले कर्णाली प्रदेश सरकारकाे नेतृत्व एमालेले गर्ने बताएका छन् । बिहिबारदेखि सुर्खेतमा सुरु भएकाे एमाले नवाैं जिल्ला अधिवेशकाे उद्घाटन गर्दै महासचिव पाेखरेलले ठुलाे दलकाे हैसियतले नेतृत्वमा दावी गर्ने परम्पराकाे अन्त्य भइसकेकाले कर्णालीकाे नेतृत्वका लागि काठमाण्डाैं नधाउन एमाले र माओवादीका नेताहरुलाई आग्रह गरे ।

अन्य प्रदेशमा एमाले माओवादी दुबैले नेतृत्व गरेकाे सन्दर्भमा कर्णालीमा एमालेकाे दावीलाई माओवादीले सहजरुपमा स्वीकार्नु पर्ने बताए । “कर्णालीका माओेवादी साथिहरुले हामीले धेरै पटक नेतृत्व गर्याै अब तपाईहरुले गर्नुस् भन्न सक्नुपर्छ,” उनले भने, “हामी राष्ट्र निर्माणका लागि अगाडि बढेका छाैं, कर्णाली सरकारका लागि काेही पनि केन्द्रमा धाउन पर्दैन ।”


सत्तागठवन्धनले हालै न्यूनतम नीतिगत प्राथमिकता र साझा संङ्कल्प सार्वजनिक भएकाे उल्लेख गर्दै मधेस प्रदेशबाट एमाले सरकारमा समावेश हुने प्रक्रिया सुरु गरेकाले कर्णालीकाे विषय पनि टुंगो लाग्ने चरणमा रहेकाे पाेखरेलले दावी गरे ।
सरकारमा हैसियत खाेज्नेभन्दा पनि जनतामा बढ्दै गएकाे निरासा र मुलुकलई ओरालाे यात्राबाट जाेगाउन नयाँ वामपन्थी गठवन्धन भएकाे उल्लेख गर्दै कर्णालीकाे नेतृत्व एमालेलाई दिने गरी माओवादीसँग सैद्धान्तिक सहमति भइसकेकाे संकेत गरे ।

नेपाल कर्म । ८ चैत्र २०८०, बिहीबार १५:२८