सुर्खेत । कर्णाली प्रदेशका अधिकाशं बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेका छन्। नेपालमा पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। तर, कर्णाली प्रदेशमा १८ वर्ष नपुग्दै विवाह गर्ने बालबालिकाको अवस्था पर्ने दर्दनाक छ। कर्णाली प्रदेशभर ३७.९ प्रतिशतले बालविवाह दर रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ।
बालविवाह रोक्न कर्णालीमा दर्जनौ संघसंस्थाहरु सक्रिय लागेका छन्। तर, यो तथ्याङक हेर्दा संघसंस्थाको बालविवाहका लागि भएको भनिएको मेहनत खेर गएको प्रष्ट देखाउछ।


यस्तै, कर्णाली प्रदेशको जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको छ। सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले बालविवाह गर्ने गरेका छन्। सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम परेको छ। रुकुमपश्चिममा ४२.३ प्रतिशतले बालविवाह गर्ने गरेको जनगणनाको तथ्यांकले देखाउछ।

जाजरकोटमा ४०.८, सुर्खेतमा ३८.७, मुगुमा ३५.९, डोल्पामा ३२.१, हुम्लामा ३३.७, जुम्लामा ३४.७, दैलेखमा ३५.२ र कालिकोटमा २८.१ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन्। कर्णालीमा बालविवाहको दर, वासस्थान, भौगोलिक क्षेत्र, शैक्षिक अवस्था, घरपरिवारको आम्दानीको स्तर, जातजातिको आधारमा फरक–फरक रहेको तथ्यांकले देखाएको छ।
यस्तै, कर्णालीका ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिएको छ। कतिपय सामाजिक तथा धार्मिक विश्वासका आधारमा बालविवाहलाई मान्यता पनि दिने गरिएको जनगणनाको तथ्यांकमा उल्लेख छ।
बालअधिकारका लागि साझा अभियान कर्णालीका टेकराज आचार्यले कर्णालीमा बालविवाह बढी हुनुमा अशिक्षा र जनचेतनाको कमी रहेको बताए। उनले कर्णालीमा बढ्दै गएको बालविवाहको ग्राफ घटाउनका लागि जनचेतनाको अभियानलाई तीनै तहका सरकारले घरपरिवार, विद्यालय तथा समाजिकस्तरमा व्यापक बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताए।

नेपाल कर्म । ८ चैत्र २०८०, बिहीबार १०:४६