काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति आपत्ति जनाएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाएकी हुन्।

सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोपसमेत लगाइन्। यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले उहाँ आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर जानुभएको जानकारी दिँदै बोल्न आग्रह गरेकी थिइन्। तर, सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने रु भन्दै नबोल्ने अड्डी लिइन्। यसैबीच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुगे।

सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताइन्। त्यसपछि उनले बोल्दै पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुनेगरी बजेट ल्याउन आग्रह गरिन्।

सांसद लामाले भनिन्, ‘यहाँ अर्थमन्त्रीज्यु देखिएन । बाहिर निस्कनु भयो । अर्थमन्त्री नहुँदाखेरी कसलाई सुनाउनेरु अर्थमन्त्रीलाई बोलाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ।ु
सांसद लामाले गरिब महिला उद्यमीहरुका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।

नेपाल कर्म । ७ चैत्र २०८०, बुधबार १४:१६