पाकिस्तान सुपर लिग उपाधि इस्लामाबाद युनाइटेडले जित्यो

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि इस्लामाबाद युनाइटेडले जितेको छ। गएराति सम्पन्न फाइनलमा मुल्तान सुल्तान्सलाई २ विकेटले पराजित गर्दै इस्लामावाद च्याम्पियन बनेको हो।



२०१८ मा पनि उपाधि जितेको इस्लामाबादका लागि यो दोस्रो पीएसएल ट्रफी हो। सादाब खानको कप्तानीमा रहेको इस्लामावादले १ सय ६० रनको लक्ष्य इनिङ्सको अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

नेसनल स्टेडियम, कराँचीमा कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि मुल्तान सुल्तान्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो।

मुल्तान सुल्तान्सका लागि उस्मान खानले ४० बलमा सर्वाधिक ५७ रन बनाए। इफ्तिखार अहमदले २० बलमा ३२ रनको योगदान दिए। कप्तान मोहम्मद रिजवान २६ बलमा २६ रन बनाए।

मुल्तान सुल्तान्सका ७ ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। इस्लामाबादका इमाद वासिमले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए। शादाब खानले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए।

१ सय ६० रनको लक्ष्य इस्लामाबादले ८ विकेटको क्षतिमा अन्तिम बलमा पूरा गर्दै रोमाञ्चक जित हासिल गर्‍यो। इस्लामाबादका लागि ओपनर मार्टिन गुप्टिलले ३२ बलमा सर्वाधिक ५० रनको अर्धशतकीय इनिङस् खेले। आजम खानले २२ बलमा ३० रनको योगदान दिए।

१ सय २९ रनसम्म इस्लामाबाद युनाइटेडका ७ ब्याट्सम्यान पवेलियन गएका थिए। तर यसपछि अलराउन्डर इमाद वासिम र नसिम शाहले ३० रनको महत्वपूर्ण साझेदारी गरे। नसिम शाह ९ बलमा १७ रन बनाएर प्याभिलियन फर्किए। इमाद वासिमले १७ बलमा १९ रन बनाएर अविजित रहे। मुल्तान सुल्तानका लागि खुशदिल शाह र इफ्तिखार अहमदले २–२ विकेट लिए।

इस्लामाबादका कप्तान सादाब खान प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदा इमाद वासिम फाइनलको म्यान अफ दि म्याच चुनिए।

तपाईको प्रतिक्रिया